झापा, १३ कात्तिक । वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले वन्यजन्तुको आक्रमणबाट मर्ने परिवारलाई राहत स्वरूप सरकारले १० लाख दिने तयारी भइरहेका बताएका छन् ।
जिल्ला वन कार्यालय झापाको शुक्रबार निरीक्षणपछि आयोजित कार्यक्रममा उनले वन क्षेत्रमा हुने अनियमिततामा संलग्न हुने जो कोहिलाई पनि कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भण्डारीले वन क्षेत्रमा कार्यरत कर्मचारीका समस्यालाई समाधान गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको प्रसंग उल्लेख गर्दै झापाको वन क्षेत्रको विकास गर्न सरकार गम्भीर भएको बताए ।
निजी वन फस्टाउने तर सामुदायिक वन र सरकारको मातहतमा रहेको वनको क्षेत्र घट्नुलाई सरकारले गम्भीर रूपमा लिएको बताउँदै उनले वन क्षेत्रको समग्र विकासका लागि इमानदारीपूर्वक कार्य गर्न कार्यालय प्रमुखलाई निर्देशनसमेत दिए ।
मन्त्री भण्डारीले ध्वस्त एवं जीर्ण रहेका वन कार्यालयको इलाका भवनकको पुनर्निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।
वन विभागका महानिर्देशक कृष्णचन्द्र आचार्यले वनको दिगो विकासका लागि सम्बन्धित सबै पक्षबीच सहयोग, समन्वय र सहभागिताको खाँचो रहेको आवश्यकता औँल्याएका थिए ।
सो अवसरमा जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले झापा जिल्लाको वन क्षेत्रको विकासमा देखिएका समस्या र यसको निराकरणका लागि कार्यालयले सुरु गरिएको प्रयास, मेची नदीमा तटबन्धन र सामुदायिक वन एवं निजी वनलगायतका सम्बन्धमा विस्तृत जानकारी गराएका थिए ।
प्रतिक्रिया