काठमाडौं, १० कात्तिक । संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा सञ्चालन भएको ‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’ मा नेपाली सेनाले ‘कांस्य’ पदकको अंक हासिल गरेको छ ।
नेपालसहित २० देशका सेनाले भाग लिएको उक्त अभ्यासमा १ सय २० सैनिक टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ । बेलायती सेनाको टेरिटोरियल आर्मीले ५५ वर्षअघि सुरु गरेको ‘‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’ क्रममा दलदले हिलोयुक्त भूमिमा ४८ घन्टाको समयसीमा भित्र ८० किमी क्षेत्रको गस्ती (पट्रोलिङ) गर्नुपर्ने हुन्छ । ‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’मा विभिन्न सैनिक अभ्याससमेत समावेश गरिएको हुन्छ ।
पेसागत प्रतियोगिता २०७३ अभ्यासमा प्रथम भएको श्री दुर्गाबक्स गणले उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व गरेको थियो । यसवर्षको ‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’ असोजको तेस्रोसाताबाट प्रारम्भ भई कात्तिकको पहिलो सातासम्म चलेको थियो । ‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’ मा नेपाली सेनाका तर्फबाट उपसेनानी प्रज्वल खनालको नेतृत्वमा ८ सदस्यीय टोली सहभागी थियो ।
संसारकै सेनाका लागि अत्यन्त कठिन तथा चुनौतीपूर्ण मानिएको ‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’मा पाएको सफलतासँगै नेपाली सेनाले अवलम्बन गर्दै आएको तालिम–नीति अब्बल रहेको प्रमाणित भएको नेपाली सेनाले जनाएको छ ।
‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’मा उच्च पेसागत दक्षता प्रदर्शन गरेको नेपाली सेनाको टोलीले कांस्य पदकको अंक प्राप्त गरेको हो । अन्तर्राष्ट्रियस्तरको यस्ता सैनिक अभ्यासको सहभागिताबाट नेपाली सेना र अरू देशका सेनाबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।
वास्तवमा ‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’ प्रतियोगिता भने होइन । तैपनि ‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’मा सहभागी टोलीलाई उनीहरूले प्राप्त गर्ने अंकको आधारमा ‘स्वर्ण’, ‘रजत’ र ‘कांस्य’ पदक दिइने प्रचलन छ । भारतीय सेनाको दोस्रो बटालियन–८ गोर्खा राइफलले यसवर्षको ‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’ मा स्वर्ण पदकको अंक हासिल गरेको छ ।
‘क्यामब्रियन पेट्रोलिङ एक्सरसाइज’मा सहभागी टोलीले ७५ प्रतिशत अंक ल्याए उक्त टोलीले स्वर्ण पदक प्राप्त गर्नेछ । त्यसरी नै ६५ देखि ७४ प्रतिशतसम्म अंक ल्याउने टोलीले रजत पदक र ५५ देखि ६४ प्रतिशतसम्म अंक ल्याउने टोलीले कांस्य पदक प्राप्त गर्नेछ । ५५ प्रतिशतभन्दा भन्दा कम अंक ल्याउने टोलीलाई भने प्रमाणपत्र मात्रै प्रदान गरिन्छ ।
प्रतिक्रिया