पालाको माग बढ्यो उत्पादन घट्यो

palaभक्तपुर, १० कात्तिक । दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायत क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो ।

माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धूपौरालगायतको माग बढ्ने र अरू बेलामा माटोको भाँडाको माग कम हुनथालेपछि यो पेसामा संलग्न कुमाले विस्थापित हुँदै गएकाले उत्पादनमा समेत कमी आएकोे छ ।

यसवर्ष पाला बनाउने प्रजापतिको संख्या घटेपछि पेसा अँगाल्दै आएकाहरूलाई भने पाला बनाउन भ्याइनभ्याई भएको हो । तिहार नजिकिँदै गएको र मागअनुसारको पाला, धूपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याइनभ्याई भएको भक्तपुर नगरपालिका–१२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताए ।

गतवर्ष ६० हजार पाला बिक्री गरेको बताउँदै उनले भने, ‘धेरै जना यो पेसाबाट विस्थापित भएका छन्, पालाको माग बढेको छ, तर उत्पादन कम छ, मेरो ६ जनाको परिवार अहिले बिहानदेखि बेलुकासम्म खटेको छ ।’ पाला बनाउँदै आएका न्हुछेकुमार प्रजापतिले परिवारमा ९ जना भए पनि अन्य पेसामा लागेकाले आफू एक्लैले यो पेसालाई निरन्तरता दिएको बताए ।

पालाको माग बढे पनि माटोको अभाव र काम गर्ने मान्छे नहुँदा मागअनुसारको उत्पादन हुन नसकेको बताउँदै उनले यसवर्ष माग र मूल्य दुवै बढेको बताए । विगत ४० वर्षदेखि माटोका भाँडा बनाउँदै आएका बुद्धिराम प्रजापतिले यो पेसाबाट वर्षभरि गुजारा चलाउन नसक्ने र माटो पनि नजिक नपाइएपछि टाढाबाट किनेर ल्याउनुपरेकाले यो व्यवसाय नै संकटमा परेको बताउँछन् ।

तिहारका लागि माटोको पाला बनाएर बिक्री गर्दै आएका स्थानीयवासी सुजन प्रजापतिले भूकम्पले पनि यो पेसालाई विस्थापित गरेको बताए । भक्तपुरमा यसवर्ष होलसेलमा एउटा पालाको एक रुपैयाँ ५० पैसा र खुद्रा मूल्य २ रुपैयाँमा बिक्री भइरहेको बताए ।

गतवर्षको तिहारमा एउटा पालाको ७५ पैसादेखि १ रुपैयाँसम्ममा बिक्री गरे पनि यसवर्ष भने यसको मूल्य बढेको उनीहरू बताउँछन् । भक्तपुर र थिमीमा उत्पादन भएको पाला, काठमाडौं, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रे, जिरी, दोलखालगायत जिल्लामा खपत हुने गरेको छ ।

प्रतिक्रिया