सोचेअनुसार काम गर्न सकिनँ : प्रधानमन्त्री

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो संविधानसभाको निर्वाचनमा आफूले सोचे अनुसारको परिणाम नआएकाले अपेक्षाकृत विकास निर्माणका काम गर्न नसकेको स्वीकारेका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आफ्नो निर्वाचन क्षेत्र सिरहाका जनताको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले निर्वाचनमा अपेक्षा विपरीतको परिणाम आएकाले आफूले पनि प्रतिवद्धता जनाएअनुरूप विकास निर्माणमा सहयोग गर्न नसकेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले निर्वाचनलगत्तै आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले सरकारसँग समन्वय गरेर सो निर्वाचन क्षेत्रको विकासमा ध्यान दिए पनि खासै प्रभावकारी हुन नसकेको बताए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालयसँग समन्वय गरेर सिरहा जिल्लाको समग्र विकासमा बजेट विनियोजन गर्ने आश्वासन दिए । दाहालले कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानीलगायतलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताए ।

उनले प्रधानमन्त्री भएलगत्तै सिरहामा आउने कार्यक्रम भए पनि प्राविधिक कारणले जान नसकेको भन्दै दुःख व्यक्त गरे । भेटमा सिरहाको प्रतिनिधि मण्डलले विकासका दृष्टिले सिरहा पछाडि परेको भन्दै नदी नियन्त्रण, सर्पदंशको उपचारका लागि अत्याधुनिक अस्पताल, बाल अस्पताल, सडक निर्माण र मर्मत, हुलाकी राजमार्गलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया