झापा, ९ कात्तिक । झापाको दमकमा डेंगुु रोगीको संख्या बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने उक्त रोगका कारण झापाको दमकमा ६० भन्दा बढी बिरामी देखिएका छन् ।
डेंगुु संक्रमण भएका ३ स्वास्थ्यकर्मी, १ पत्रकारसहित ६० जना बिरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा.तिलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ केयरका २ जना स्वास्थ्यकर्मीमा डेंगु फेला परेको हो ।
स्थानीय पत्रकार गोपाल झापालीलाई पनि डेंगु पोजेटिभ प्रमाणित भइसकेको बताइएको छ । मेसु शाहलाई उपचारका लागि भारतको सिलगुढी पठाइएको छ । त्यस्तै एमालेका दमक नगरसचिव इन्द्र गुरुङ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।
डेंगु रोगले महामारीको रूप लिएपछि साँझको समयमा दमकमा चहलपहलसमेत कम हुँदै गएको छ । खासगरी डेंगुु सार्ने लामखुट्टे साँझमा सक्रिय हुने भएकाले चहलपहल हुन छाडेको पत्रकार विष्णु पोखरेलले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क रूपमा डेंगु परीक्षणका लागि दमक अस्पताललाई केन्द्र तोकेको छ । यहाँ सरकारले तोकेको कीटमा डेंगु परीक्षण हुने गरेको छ । बिहीबारदेखि निजी अस्पतालले समेत निःशुल्क रूपमा डेंगुु रोगको परीक्षण गर्ने बताएका छन् ।
दमकमा सबैभन्दा बढी एडभान्स हेल्थ केयरमा डेंगुका बिरामी फेला परेको बताइएको छ । एडभान्स हेल्थ केयरमा ३० जना, लाइफलाइन अस्पतालमा १५ जना, दमक अस्पतालमा १० जना डेंगुका बिरामी फेला परेका छन् ।
प्रतिक्रिया