बमको हल्ला फिँजाएर विद्यालयमा आतंक मच्चाउनेहरू

काठमाडौं, ६ कात्तिक । एक महिनाअघि राजधानीका १० वटा निजी विद्यालयको गेटमा बम राखेर आतंक मच्चाउने समूहका २ कमाण्डरलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक मिन देवकोटा भन्ने विनोद थापा र आफूलाई माओवादी कम्युनिस्ट केन्द्रको महासचिव बताउने केशव दाहाल रहेका छन् ।

बमकाण्डका मुख्य योजनाकारसमेत रहेका थापा र दाहालसहित ९ जनाको टिमले काठमाडौंको टोखास्थित १ घरमा बसेर विद्यालयमा बम विष्फोट गराउने योजना बनाएका थिए ।

महानगरीय प्रहरी कार्यालयका एआइजी प्रतापसिंह थापाका अनुसार पूर्वलडाकुसमेत रहेका माओवादी कम्युनिष्ट केन्द्रका अध्यक्ष देवेन्द्रसिंह महताले डेरा गरी बस्दै आएको टोखाको शितलवस्तीस्थित एक घरमा उनीहरूले बम आतंकको योजना बनाएका थिए ।

‘चन्दाका लागि दवाव सृजना गर्ने उद्देश्यले उनीहरूले २५ भदौमा नौ जना बसेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ’ एआइजी थापाले भने, ‘सोही दिन उनीहरूले जिम्मेवारी बाँडफाँड गरेर ४ असोज बिहान २ बजेतिर विद्यालयहरूमा विष्फोटक पदार्थ राखेर केन्द्रीय स्तरका नेता तत्काल काठमाडौं बाहिर गएको देखिन्छ ।’

विद्याको मन्दिर मानिने स्कुलहरूमा बम पड्काउने कार्यमा संलग्न अन्य ४ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । यसअघि पक्राउ परेका सर्लाहीका मुस्तकिम अन्सारी, सप्तरीका विष्णु पौडेल, शंकर लाखे र चन्द्रबहादुर तामाङलाई विस्फोटक पदार्थ तथा संगठित अपराध ऐनअन्तर्गतको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

विद्यालयमा अनियमितता भएको आधार देखाएर हस्तक्षेप गर्ने नीति लिएको यो समूहले २०७३ साल २८ असारमा एनप्याब्सनको कार्यालयलाई ९ बुँदे माग राखेर विद्यालयमा हुने अनियमितता रोक्न माग गर्दैै ज्ञापनपत्र बुझाएको थियो । ‘चन्दा असुलीका लागि दवाव दिने उद्देश्यले यो समूहले २०७३ साल ६ साउनमा स्वयम्भूमा रहेको आइडियल मोडल स्कुलको गाडीमा आगजनी गरेको थियो’ महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले भने, ‘पार्टीका महासचिव भनिएका केशव दाहाल २०६६ सालमा सुरेन्द्र लम्साललाई अपहरण गरी ३ करोड फिरौती माग गरेको तथा सोही वर्ष सुन्दरीजलस्थित नयाँ पाटीमा बम विष्फोट गरेको अभियोगमा सजाय भोगेको अनुसन्धानको क्रममा खुलेको छ ।’

बम आतंकमा संलग्न पार्टीका अध्यक्ष देवेन्द्रसिंह महत तथा कोषाध्यक्ष जानु श्रेष्ठ फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको एसएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया