बालमैत्री बनाउन अवलोकन भ्रमण

काभ्रे, ३ कात्तिक । काभ्रेका विद्यालय तथा गाविस र नगरपालिकाहरुमा बालमैत्री घोषणा कार्यक्रम लागू गर्नुपर्ने पाइला फाउन्डेसन नेपालका अध्यक्ष नरेन्द्रकुमार नगरकोटीले बताएका छन् । नेपालमा विभिन्न अधिकारहरुबारे बहस पैरवी भइरहेको बेला नवलपरासीको प्रगतिनगरसम्म भ्रमण टोलीलाई नेतृत्व गरेर फर्केका उनले यस्तो बताएका हुन् ।

प्रगतिनगरलाई नेपालकै पहिलो बालमैत्री गाविसको रुपमा ०७१ सालमा घोषणा गरिएको थियो । त्यसपछि पहिलो बालमैत्री सामुदायिक स्कुलको रुपमा नवलपरासीकै सुनवल ५ को भगवती मावि हुँदै ०७२ सालमा सुनवल नगरपालिका पनि बालमैत्री घोषणा भएको थियो । घोषणालगत्तै विभिन्न ४४ ठाउँबाट सोको अवस्थाबारे बुझ्न सुनवल नगरपालिकामा अवलोकन भ्रमण गरिएको थियो । सुनवल नगरपालिकाका सामाजिक शाखा प्रमुख एवं बालमैत्री स्थानीय शासन सम्पर्क व्यक्ति रेशम शर्माले यो क्रम अहिलेसम्म जारी रहेको बताएका छन् ।

सोमबार काभ्रेबाट पाइला फाउन्डेसन नेपालका अध्यक्ष नरेन्द्रकुमार नगरकोटीको संयोजकत्वमा १३ सदस्यीय टोली सुनवल अध्ययन भ्रमणमा पुगेको थियो । ७ वर्षदेखि निरन्त्तर बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सरोकार समाज नेपालका अशोक खनाल, काभ्रेमा रहेका बाल क्लबहरुको जिल्ला सञ्जाल अध्यक्ष रञ्जन पौडेलसहितको टोलीले सुनवल नगरपालिकामा रहेका विद्यालय, होटल र समाजका अवस्थाहरु अवलोकन गरेर मंगलबार काभ्रे फर्केका छन् ।

सुनवल नगरपालिकालाई बालमैत्री बनाउने कार्यमा नेतृत्वदायी भूमिका निभाएकी बिपना शर्मासहितको विद्यार्थी, नगर समिति, स्वास्थ्य केन्द्र प्रतिनिधिले नगरपालिकामा भए गरेका प्रयास, वर्तमान अवस्था, भावी योजना र चुनौती साथै सफलताको अनुभवका कथाहरु भ्रमणका बेला सुनाएका थिए । भ्रमण दल र स्थानीय दुवै पक्षका सहभागीहरुबीच अन्तरक्रिया भएको थियो ।

सुनवल नगरपालिकामा बालमैत्री घोषण पछि र अघिको अवस्थाबारे बुझ्दै काभ्रेमा चाँडै बालमैत्री स्कुल, गाविस हुँदै नगरपालिका र जिल्ला स्तरीय कार्यक्रम समेत गर्ने उद्देश्य लिएर टोली फर्किएको भ्रमणमा रहेको प्याब्सन काभ्रेका अध्यक्ष राममणि सापकोटाले बताए । नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन राष्ट्रिय कार्यविधि २०६८ अनुसार ३९ वटा मापदण्ड पूरा गरिएपछि बालमैत्री घोषणा गर्न सकिने छ ।

सुनवल नगरपालिकामा नगरपालिकाले थप गरेको २ सहितको ४१ सूचकहरु पूरा गरिएको भन्दै बालमैत्री घोषणा कार्यक्रम सम्पन्न भएको थियो । उनीहरुले सूचकका रुपमा बालबचाउका १०, बाल संरक्षणका ५, बाल विकासको ६, बाल सहभागिताको ६, संस्थागत विकाससम्बन्धी १२ गरी ३९ र नगरपालिकाले थप दुई सूचक गरी ४१ सूचक तयार पारेको भ्रमण दललाई जानकारी दिएका थिए ।

भ्रमणपछि संयोजक नगरकोटीले काभ्रेको हकमा पनि तत्कालै सम्भव भएका विद्यालयहरु र गाविस र नपाहरुमा बालमैत्री घोषणा कार्यक्रम लागु गर्न पहल गर्दै पक्रियागत कामहरु सुरु गर्ने बताए । उनले सबै स्कुलमा बाल क्लब, सबै टोल र वडाहरुमा बाल क्लब गठन पक्रियालाई तीव्रता दिन र सम्बन्धित सबै निकायहरुलाई सो कर्ममा साथ दिन आह्वान गरेका छन् ।

भ्रमण टोलीमा बालमैत्री वातावरण निर्माणमा लागिपरेका निर्मला गौतम, श्रीराम चौलागाईं, शुकदेव थपलिया, श्रवण चिमोरिया, अमृत अधिकारी, सदीक्षा न्यौपाने, प्रेम उप्रेती, अशोक न्यौपानेलगायतका अभियन्ताहरु सहभागी थिए ।

प्रतिक्रिया