दसैँका लागि सोह्र हजार च्याङ्ग्रा पोखरामा

पोखरा, २१ असोज । यस वर्षको दसैँका लागि पोखरामा १६ हजार च्यांङग्रा भित्रिएका छन् । विशेष गरी मुस्ताङबाट त्यहाँका स्थानीय कृषकका साथै अन्य ठाउँबाट गएका व्यवसायीले दसैँका लागि भेडा तथा च्याङ्ग्रा खरिद गरी पोखरामा ल्याएर बिक्री गर्ने गरेका छन् ।
दसैँका लागि पोखराको टुँडिखेलमा ल्याइने च्याङ्ग्रा यतिखेर हेमजा, सुइखेत, याम्दीलगायत स्थानमा राखिएकामा यही फूलपातीसम्म पोखराको टँुडिखेलमा ल्याइसक्ने व्यवसायीको तयारी छ । जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत महेन्द्र मल्लका अनुसार व्यवसायीले पोखरामा बिक्रीका लागि मुस्ताङबाट २१ हजार १० वटा च्याङ्ग्रा हिँडाएको भए पनि हालसम्म १६ हजार च्याङ्ग्रा पोखरा र आसपासका क्षेत्रमा भित्रिसकेका छन् । कतिपय व्यापारीले बाटोमा नै च्याङ्ग्रा बिक्री गरिसकेका छन् ।

जोमसोमबाट यही असोज ९ गते पोखराका लागि २ सय५५ वटा च्याङ्ग्रा लिएर आएका व्यवसायी युवराज नेपाल १७ गते पोखराको हेम्जा आइपुगेका थिए । हेम्जा आइपुगेपछि ४३ वटा च्याङ्ग्रा बेचिसकेको जाकारी दिँदै उनले आफूले २५ हजार रुपैयाँका दरले च्याङ्ग्रा बेचेको बताए ।

व्यवसायी नेपाल जस्तै मुस्ताङको घिलिङबाट २ सय च्याङ्ग्रा ल्याएका मानबहादुर तामाङ पोखरा ल्याएसँगै दिन प्रतिदिन च्याङ्ग्रा लिन आउने सर्वसाधारणको चाप बढ्दै गएको बताउँछन् । ‘मैले ल्याएको बथानमा २२ हजारदेखि २५ हजार रुपैयाँ सम्मका च्याङ्ग्रा छन्,’–उनले भने, ‘च्याङ्ग्रा खरिद गरी व्यापार गर्ने कुरामा जोखिम मोल्नै पर्छ, हिमाली भेगको च्याङ्ग्रा पोखरा ल्याएर बेच्ने कुरा त्यति सजिलो छैन ।’

विगत ७ वर्षदेखि मुस्ताङबाट च्याङ्ग्रा ल्याएर पोखरामा व्यापार गर्दै आएका कास्की ल्वाङघलेलका सोम तामाङले यस वर्ष उपल्लो मुस्ताङको लोमन्थाङबाट सय वटा च्याङ्ग्रा ल्याएका छन् । च्याङ्ग्राको व्यापारबाट केही फाइदा हुने भएपनि यो जोखिमको व्यापार भएको उनको भनाइ छ । ‘चिसो ठाउँको च्याङ्ग्रा गर्मी ठाउँमा ल्याउनुपर्ने भएएकाले कति त मर्ने पनि हुन्छ,’उनले भने, ‘हिँडाएर ल्याउनुपर्ने भएकाले कति त बाटैमा हराउने सम्भावना पनि हुन्छ ।’

च्याङ्ग्रा ल्याउने क्रममा पनि व्यापारीहरूले बाटोमा धेरै समस्या झेल्दै आएको अर्का व्यवसायी ज्योतीप्रसाद पुनले बताए । कार्यालयको तथ्यांकअनुसार पोखरामा मात्रै दैनिकरुपमा ७ हजार ५ सय किलोग्राम खसिको मासु खपत हुन्छ भने ३५ हजार किलोग्राम कुखुराको मासु खपत हुने गरेको छ । जिल्लामा २ सय २१ बाख्रा फार्म अभिलेखीकरण भएको बताउँदै पशु विकास अधिकृत मल्लले ९१ हजार २ सय ५४ बाख्राको सङ्ख्या रहेको जानकारी दिए ।

मासिक पाँच हजारको संख्यामा पोखरामा खसी भित्रने गरेको बताउँदै मल्लले दसैँका समयमा हिमाली भेगबाट आउने भेडा तथा च्याङ्ग्राका कारण एक हजारदेखि १ हजार २ सय सम्म कम भित्रिने गरेको उल्लेख गरे । पछिल्ला वर्षमा कास्की जिल्ला विस्तारै कुखुरामा आत्मनिर्भर हुँदै गएको कार्यालयले जनाएको छ । जिल्लाका भरतपोखरीको चवादी, कुर्लिङका साथै निर्मलपोखरी, माझठाना, थुमाको डाँडालगायत स्थानमा पछिल्ला वर्षमा व्यावसायिक रुपमा कुखुरापालनका साथै बाख्रापालन गर्ने क्रम सुरु भएको स्थानीय कृषक बताउँछन् ।

प्रतिक्रिया