भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा

स्टकहोम, २० असोज । २०१६ का लागि भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार यस विधामा उल्लेख्य योगदान पु¥याएवापत डेभिड जे थाउलस, एफ डंकन एम हाल्डेन र जे मिखायल कोस्टर लिजलाई प्रदान गरिने भएको रोयल एकेडेमी अफ साइन्सेजले मंगलबार घोषणा गरेको छ ।
उनीहरूलाई भौतिक शास्त्रअन्तर्गतको सांस्थितिक अवस्थामा हुने परिवर्तन तथा महत्वका बारेमा सैद्धान्तिक अनुसन्धानात्मक अध्ययनका लागि गरेको भूमिकाको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार घोषणापछि छोटो प्रतिक्रिया दिँदै सम्मानित वैज्ञानिक हाल्डेनले आफू भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारद्वारा सम्मानित भएको समाचारले हर्षित बनाएको बताए ।

उनले आफ्ना अनुसन्धानबाट यसअघि उपेक्षित अवस्थामा रहेका महत्वपूर्ण कुरा पत्ता लगाएको बताए । उनले आफूहरूको समूहले गरेको अनुसन्धानबाट धेरै नयाँ पदार्थको खोजी गर्ने बाटो पहिल्याएकोे दाबीसमेत गरे ।

यस वर्षको पुरस्कारको राशि ८० लाख स्वीडिस क्रोना अर्थात् ९ लाख ३० हजार अमेरिकी डलर भएको र तीनै जना वैज्ञानिकलाई दामासाहीले वितरण गरिने एकेडेमीले बताएको छ ।

प्रतिक्रिया