गुटबन्दीले कांग्रेस बिग्रियोे : बुद्धिजीवी

congress-flag-copyकाठमाडौं, १९ असोज । सरकारभन्दा पनि सरकारी कार्यक्रम लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर हुँदा आर्थिक समृद्धि हुन नसकेको बुद्धिजीवीहरूले बताएका छन् । प्रजातान्त्रिक विचार समाजले मंगलबार आयोजना गरेको ‘वर्तमान अवस्थाप्रति प्रजातान्त्रिक समाजको दृष्टिकोण’ विषयक अन्तत्र्रिmयाका सहभागीले राजनीतिक क्रान्तिको सफलतापछि आर्थिक एजेन्डासहितको विकास कार्यक्रममा ध्यान दिन नसक्दा आर्थिक विकासले गति लिन नसकेको बताए ।

उनीहरूले कांग्रेसले सहमति, सहकार्य र एकताको नाममा सिद्धान्त बिर्संदै गएको र पार्टीभित्र आन्तरिक लोकतान्त्रिक संस्कृतिको सट्टा गुटबन्दी बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरे । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले लोकतान्त्रिक व्यवस्थामा राज्य र राजनीतिक दलमा व्यक्तिभन्दा संस्था, संयन्त्र र लोकतान्त्रिक संस्कृति सुदृढ हुन नसक्दा विकास निर्माण, सुशासन र राज्यले दिने सेवामा प्रभावकारिता आउन नसकेको बताए । कांग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानबाट प्राप्त मुख्य उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

वरिष्ठ पत्रकार होमनाथ दाहालले प्रजातन्त्रविरोधी शक्ति सबैतिर स्थापित हुँदै गरेको तथा राष्ट्रियता संकटमा परेको बेला सहमति, सहकार्य र एकताको नाउँमा कांग्रेसले सिद्धान्त बिर्संदै जाँदा मुलुकमाथि नै संकट थपिँदै गएको धारणा राखे । उनले बिपी, गणेशमान, सुवर्ण शमशेरजस्ता नेताहरूले बालेको प्रजातन्त्रको दियोमा तेल थप्दै जानुपर्नेमा पार्टीभित्र महाधिवेशनपछि गुटबन्दी बढेर मुख्य विषयहरूमा नेताहरूबीच स्वभाविक छलफल नहुनु चिन्ताको विषय हो बताए ।

वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले कांग्रेसले आफ्नो आदर्श, सिद्धान्त, कार्यक्रम र रणनीतिलाई समयानुकूल परिभाषित गर्नुपर्ने धारणा राख्दै पार्टीमा बढ्दो गुटबन्दीले लोकतान्त्रिक संस्कृति, संगठन र सिद्धान्त कमजोर बनाउँदै लगेको बताए । ‘पार्टीका निकाय र सरकारमा नियुक्ती हुँदा गुटउपगुटका मान्छे नियुक्त हुन्छन्, कांग्रेसका हुँदैनन्, अहिले कांग्रेस पार्टीभित्र कांग्रेस बन्ने संस्कृतिको निर्माण गर्नुपर्ने आवश्यकता छ’, दाहालले भने ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेलले प्रजातान्त्रिक सिद्धान्तले स्वतन्त्रता र समुन्नती दिएन भने त्यहाँ नेतृत्व असफल हुन्छ भन्दै पुँजीको विकास, सामाजिक सुरक्षा र पुँजीको पुनर्वितरणसहित ससाना उद्यम व्यवसाय धेरै संख्यामा गरेर आर्थिक विकासलाई अघि बढाउन सकिने बताए । उनले भने, ‘सरकार अस्थिर भएर विकासमा बाधा पर्दैन बरु त्यसलाई लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर भएमा सुशासन र विकासमा बाधा पुग्छ ।’

कूटनीतिज्ञ डा.शम्भुराम सिंखडाले कांग्रेसलाई अरू कसैले होइन आफैँभित्रको झगडा र गुटबन्दीले कमजोर बनाउने गरेको बताउँदै सिद्धान्तको राजनीति र निष्ठावान नेतृत्वले संगठनको माध्यमबाट जनताले चाहेको विकास गर्न सक्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्यद्वय प्रभु बुढाथोकी र धीरेन्द्रमान प्रधानले एउटा भन्ने आपसमा विश्वास नगर्ने प्रवृत्ति तथा बुद्धिजीवीले पनि समस्या उठाउने तथा समाधान नदिने गर्दा देशमा झन्झन् समस्या बढ्दै गएको धारणा राखे ।

समाजका अध्यक्ष डा.केदारनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र महासचिव गोकर्ण अर्यालले व्यक्तिभन्दा विचार, सिद्धान्त, संस्था र संयन्त्र राम्रो हुँदा मात्र राजनीतिक दल र लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुनसक्ने बताए । कार्यक्रममा नेपाल इञ्जिनियर्स एसोसियसन र नेपाल चिकित्सक संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।

राज्यमन्त्री छान्नै सकस

 कांग्रेस सभापति शेरबहादुर देउवाले राज्यमन्त्री छान्न गरिरहेको ढिलाइप्रति उनकै समूहभित्र पनि असन्तुष्टि बढेको छ । आफ्नै समूहका नेताहरूले दसैंअघि नै राज्यमन्त्री बनाउन देउवालाई दबाब दिइरहेका छन् । ‘आज गरे पनि भोलि गरे पनि हुने त्यही हो भने किन ढिलाइ गर्ने ?’ देउवानिकट एक नेताले भने, ‘राज्यमन्त्री बनाउनसमेत यतिका समय लाग्ने भएपछि पार्टीका पदाधिकारी र विभागहरू कहिले बन्लान् ?’

देउवालाई भने राज्यमन्त्रीका आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो भएको छ । आकांक्षीको व्यवस्थापनका लागि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग ९ राज्यमन्त्री माग गरेका छन् । तर, दाहालले कुल मन्त्रालय संख्याको ५० प्रतिशतभन्दा बढी राज्यमन्त्री बढाउन मानेका छैनन् । प्रधानमन्त्री दाहाल कांग्रेसबाट ८ भन्दा बढी राज्यमन्त्री बनाउन नहुने पक्षमा छन् । कांग्रेसका भागमा १५ मन्त्रालय छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ राज्यमन्त्री आफ्नो समूहलाई दिनुपर्ने माग गरेका कारण पनि देउवा अप्ठ्यारोमा परेका छन् । उनी पौडेल पक्षलाई २ राज्यमन्त्री दिने सुरमा थिए । तर, पौडेल पक्षले ३ भन्दा कममा नमान्ने सन्देश पठाएपछि उनले दाहालसँग ९ राज्यमन्त्री मागेका हुन् ।

कृष्णप्रसाद सिटौला र खुमबहादुर खडकाले समेत भागबन्डा खोजेका छन् । सिटौला र खडकालाई १–१ राज्यमन्त्री दिने मनस्थितिमा देउवा पुगेको स्रोतको दाबी छ । मन्त्रीमा समावेशी र प्रादेशिक प्रतिनिधित्व मिलाउने गरी नाम छनोट नगरेको भनी आफ्नो आलोचना भएकाले देउवा राज्यमन्त्रीमा सन्तुलन मिलाउने पक्षमा पनि छन् । स्रोतका अनुसार देउवाले कैलालीका दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलीप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता र मीन विश्वकर्मामध्येलाई आफ्नो समूहबाट राज्यमन्त्रीमा पठाउनेछन् । पौडेल पक्षले कपिलवस्तुका सुरेन्द्र आचार्य, काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं र कास्कीका जीवन परियारलाई पठाउने तयारी गरेको छ ।

माओवादी केन्द्रले लिएका ९ मन्त्रालयमा ४ राज्यमन्त्री नियुक्त भइसकेका छन् । कांग्रेसबाट ९ राज्यमन्त्री थप भए मन्त्रिपरिषद् ४० सदस्यीय हुनेछ । प्रधानमन्त्री दाहालसँग खानेपानी तथा सरसफाइ, पशुपंछी विकास, महिला बालबालिका तथा समाज कल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छन् । साना दलका लागि भनेर ती मन्त्रालय छुट्याइए पनि कांग्रेस र माओवादीबीच १–१ मन्त्रालय लिने समझदारी भएको छ । थप २ मन्त्रालय फोरम लोकतान्त्रिकका लागि राख्ने सहमति बनेको कांग्रेसका एक मन्त्रीले बताए । (सौस)

प्रतिक्रिया