चितवन, १७ असोज । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको संक्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ । पश्चिम चितवनको नारायणी नगरपालिका ३ बुद्धनगर स्थायी घर भई विगत ६ वर्षयता चन्द्रनिगाहपुरमा बस्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरहरि चापागाईंको नेतृत्वमा उनकै निवास पुगेर महिलाको बारेमा विस्तृत अध्ययनसमेत गरेको छ । टोलीमा रहेका किट नियन्त्रक राम केसीका अनुसार ती महिला भदौ ३१ गते ज्वरो आएपछि चन्द्रनिगाहपुरबाट उपचारका लागि असोज १ गते भरतपुर आएकी थिइन् । २ गते मौलाकालिका अस्पतालमा भर्ना भई ३ गते सोही अस्पतालबाट काठमाडौं लगिएको थियो । मौलाकालिका अस्पतालमा डेंगुको उपचारपछि उनलाई काठमाडौंस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको हो । असोज ४ गते ट्रपिकल अस्पतालमा भर्ना भई ६ गते डिस्चार्ज भएको र ७ गते चितवन फर्किएको केसीले बताए ।
उपचारपछि ती महिला आफ्नै घर बुद्धनगर फर्किएकी छन् । पति चन्द्रनिगाहपुरमा जागिर खाने भएपछि उनीहरू बजारमै बसोबास गर्दै आएको पाइएको छ । महिलाले ज्वरो आउने र टाउको दुख्ने भएपछि उपचारका लागि भरतपुर आएको जनाएको केसीले बताए । अहिले महिलाको अवस्था सामान्य रहेको केसीले जानकारी दिए । उनी बसोबास गर्ने बुद्धनगरको घर वरिपरि सरसफाइ रहेको र पानी नजमेको पाइएको केसीले बताए । निमित्त प्रमुख चापागाईंले रोग रौतहटबाट आएको हुँदा विभागमार्फत रौतहटमा अध्ययनका लागि जानकारी गराइने बताए ।
ती महिलाको चितवनमा डेंगु परीक्षण गर्दा नेगेटिभ देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । चापागाईंले ती महिलालाई डेंगु सार्ने लामखुट्टेले टोकेर अर्काे कुनै व्यक्तिलाई टोकेको भए रोग सर्ने सम्भावना रहने बताए । यद्यपि, लामखुट्टेले यो रोग यो सार्ने गर्दछ । भारतमा सन् २००३ मा महामारीका रूपमा चिकनगुनियाको संक्रमण देखिएको थियो । यो रोग लागेको वाकवाक आउने, उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने फिजिसियन डा.कालिदास अधिकारीले बताए । यस्तो लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने सुझाव उनको छ । पछिल्लो समय डेंगुको शंका लागेका बिरामीलाई चिकनगुनियाको समेत परीक्षण गर्न सुझाइएको उनले बताए ।
प्रतिक्रिया