पौडेल र उपाध्याय अनुमोदित

lilamani-paudel-and-deepkumar-uppdhya-1काठमाडौं, १७ असोज । चीन र भारतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले चीनका लागि राजदूत सिफारिस भएको लीलामणि पौडेलको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

उपाध्यायको नाम एमाले र राप्रपा नेपालका सांसदको असहमतिका बीच पारित भएको हो । उपाध्यायलाई अघिल्लो सरकारले राजदूतबाट फिर्ता बोलाएकोमा फेरि सरकारले सिफारिस गर्नु गलत भएको भन्दै समितिमा रहेका एमालेका ५ र राप्रपा नेपालका १ जना सांसदले अनुमोदन गर्न नहुने अडान लिएका थिए ।

भारतका लागि सिफारिस भएका राजदूत दीपकुमार उपाध्यायको नाममा भने प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपा नेपालले असहमति जनाएका थिए । कुनै पनि राजदूतको नाम अस्वीकार गर्न दुईतिहाइ मत चाहिने भएपछि उपाध्यायको नाम अनुमोदन भएको हो ।

समितिबाट सिफारिस अनुमोदन भएसँगै उपाध्यायलाई दोस्रोपटक भारतको राजदूत नियुक्त हुने बाटो खुलेको छ । एमाले नेतृत्वको अघिल्लो सरकारले राजदूतको पदीय मर्यादा विपरीत सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोपमा उपाध्यायलाई कार्यकालको बीचमै फिर्ता बोलाएको थियो । समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रावधान छ ।

प्रतिक्रिया