गुनासो सुन्नेकै गुनासो : सरकारले वास्ता गरेन

hello-sarkar_20141008104903काठमाडौं, १७ असोज । आमसर्वसाधारणको गुनासो सम्बोधन गर्ने जिम्मेवारी बोकेको हेलो सरकार आफैँले पनि असजिलो भोगिरहेको भन्दै गुनासो पोखेको छ । हेलो सरकार कक्षमा सूचना प्रविधिमा राम्रो दक्षता राख्ने जनशक्ति अभाव रहेको, कार्यकक्ष साँघुरो भएको र त्यहाँ काम गर्ने कर्मचारीको उत्प्रेरणा नभएको हेलो सरकारले बताएको हो । काम गर्ने र नगर्ने कर्मचारीलाई समान व्यवहार गर्दा काममा प्रतिस्पर्धा र उत्साह नदेखिएको हेलो सरकार इकाइको भनाइ छ ।

यस्तै दर्ता भएका गुनासोको अनुगमन गर्ने संयन्त्र नहुँदा, हेलो सरकारमा आएका गुनासा सम्बन्धित पक्षले कार्यान्वयनमा आलटाल गर्दा तथा भौतिक र प्राविधिक पक्षबाट सम्पन्न नहुँदा पनि काममा उत्साह नहुने कर्मचारीहरू बताउँछन् ।

एक कर्मचारीले हेलो सरकारलाई कम प्राथमिकता दिएर सरकारले व्यवहार गरेको गुनासो गरे । हेलो सरकारमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता नहुँदा कामप्रति नैराश्यता छाएको गुनासो पनि उनले गरे ।

आमनागरिकले हेलो सरकारमा गरेका उजुरीका आधारमा शासन प्रणालीमा क्रमिक सुधार देखिएको प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सरकार इकाइले बताएको छ ।

धारामा पानी नआएको, सडकमा खाल्डा परेको लगायतका गुनासा सुन्ने र जनताका गुनासा सम्बोधन गर्न सम्बन्धित कार्यालयलाई हेलो सरकारले निर्देशन दिने गरेको छ । यसबाट धेरै सुधार आएको हेलो सरकारले बताएको छ । पहिल्लो १ महिनामा सर्वसाधारणले गरेको उजुरी र टिपाएको गुनासाका आधारमा बजार अनुगमनमा सक्रियता बढेको हेलो सरकारले बताएको छ ।

कालोबजारी बढेको भन्दै उजुरी बढेपछि हेलो सरकारले आपूर्ति विभागलाई यसबारे जानकारी गराउँदै बजार अनुगमन तीव्र पार्न निर्देशन दिएको थियो ।

‘भदौ महिनामा ट्याक्सीले मिटरमा ठग्यो, धेरै पैसा लियो भन्ने गुनासो आएको थियो, हेलो सरकारका उपसचिव प्रद्युम्न उपाध्यायले भने, ‘हामीले ट्राफिक प्रहरीलाई यो समस्याबारे जानकारी गराएपछि ट्राफिक व्यवस्थापन, पार्किङ र ट्याक्सीको भाडा नियन्त्रणमा आएको रिपोर्ट पाएका छौँ ।’ नागरिकको गुनासोपछि दिएको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटमा उडान सूची अपडेट हुन थालेको, यातायात कार्यालयमा सुधारको प्रयास भइरहेको र नयाँ बानेश्वर चोकको खाल्डाखुल्डी पुरिएको हेलो सरकारले बताएको छ ।

यस्तै हेलो सरकारमा परेको उजुरीपछि कपिलवस्तुको आन्तरिक राजस्व कार्यालयमा मधेस सरकारको बोर्ड हटाएर नेपाल सरकार राखिएको पनि हेलो सरकारले बताएको थियो । यस्तै उजुरीकै कारण उपत्यकामा करिब एक दर्जन सडक मर्मत भइसकेको पनि बताइएको छ ।

हेलो सरकारले आइतबार पत्रकार सम्मेलन गरेर दसैँका अवसरमा ठगिने सम्भावना हुने भन्दै त्यस्तो अवस्थामा हेलो सरकारलाई खबर गर्न आग्रह गरेको छ । ‘११११ मा फोन गरेर नागरिकले जहाँ जस्तोसुकै समस्या भए पनि हामी समक्ष उजुरी गर्दिनुभयो भने हामी सम्बन्धित कार्यालयलाई तत्काल सम्बोधन गर्न निर्देशन दिन्छौँ, हेलो सरकार इकाइ प्रमुख प्रद्युम्न उपाध्यायले भने, ‘सानो कुरा भनेर सहेर बस्नु पर्दैन ।’ उनले हेलो सरकारले आफ्नो उपस्थिति बलियो बनाउने कोशिस गरिरहेको समेत बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आमजनताका गुनासा सम्बोधनका लागि हेलो सरकार सेवा सुरु गरेका थिए । ४ वर्ष ११ महिनाको अवधिमा हालसम्म ५० हजार ९ सय ५ वटा उजुरी परेका छन् ।

प्रतिक्रिया