काठमाडौं, १६ असोज । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो । यो आइतबारदेखि नै लागू हुने अरबन्युजले जनाएको छ ।
नयाँ शूल्कअनुसार यसअघि २५ रियालमा पाइने भिजिट भिसाका लागि अब २ हजार रियाल तिर्नुपर्ने भएको छ । यस्तै ५ सय रियालमा पाइने ६ महिनाको मल्टिपल भिसा अब ३ हजार रियाल तिरेपछि मात्रै लाग्नेछ । १ वर्षका लागि ५ हजार रियाल र २ वर्षका लागि मल्टिपल भिसा पाउन अब ८ हजार रियाल तिर्नुपर्ने भएको छ ।
साउदी सरकारले एक्जिट एन्ड रि–इन्ट्री भिसा शूल्क पनि तोकेको छ । यसबाट नेपालीहरू पनि प्रभावित हुनेछन् । दुई महिना छुट्टीमा आउनेले २ सय रियल ‘एक्जिट एन्ड रिइन्ट्री भिसा शूल्क तिर्नुपर्ने समाचारमा उल्लेख छ । २ महिनाभन्दा बढी बसेमा प्रत्येक महिनाको १ सय रियालका दरले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ ।
कम तलब कम पाउने, समयमै नपाउने र बढी दुःख, जोखिम खेप्नुपर्ने स्थितिले पछिल्लो समयमा नेपालीको आकर्षण घट्दो छ । अब बढेको शूल्कले उनीहरूलाई थप मारमा पारेको छ । साउदी सरकारले यसअघि नै इकामा (आवासिय अनुमति पत्र)को शुल्कमा भारी बृद्धि गरेका कारण कामदार तथा रोजगारदाता कम्पनीमा अतिरिक्त भार परेको थियो ।
कुनै पनि नेपालीले साउदीमा स्थायी रूपमा बसाइसराई, नागरिकता, पीआर या ग्रीनकार्डलगायत सुविधा र अधिकार पाउँदैनन् । अब अस्थयी रोजगार तथा आप्रवासनका लागि पनि साउदी अरब महंगो शुल्क बुझाउनुपर्ने मुलुकमा पर्ने भएको छ । साउदीले अब सामुन्द्रिक बाटो हुँदै देश छोड्नेहरूसँग पनि ५० रियाल इक्जीट शुल्क लिनेछ । मल्टिपल भिसा अवधि थप्दा प्रतिमहिना २ सय रियाल पनि बुझाउनुपर्नेछ ।
प्रतिक्रिया