सरकारविरुद्ध नयाँ शक्तिको प्रदर्शन

काठमाडौं, १५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी गरिएको २५ बुँदे संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै नयाँ शक्ति पार्टी नेपाल सडक आन्दोलनमा उत्रिएको छ ।

संयुक्त वक्तव्यका कतिपय बुँदा नेपालको सार्वभौमसत्तामा हस्तक्षेप गर्ने किसिमको रहेको भन्दै नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ता शुक्रबार काठमाडौंको भद्रकालीमा धर्नामा बसेका थिए । संयुक्त वक्तव्यका बुँदा नम्बर ७, १०, ११, १२, १३, १४ र २० राष्ट्रिय हितका दृष्टिले गम्भीर र आपत्तिजनक रहेको तथा बुँदा नम्बर ११ ले नेपाललाई भुटानीकरण गरेको नयाँ शक्तिको दाबी छ ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय मञ्चहरूमा संयुक्त धारणा बनाएर अगाडि बढ्ने बुँदामा हस्ताक्षर गरेर प्रधानमन्त्री दाहालले राष्ट्रघाती काम गरेको आरोप लगाए । नयाँ शक्ति नेपालले पुराना इलाकाहरूलाई आधार मानेर स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्ने सरकारी निर्णयप्रति पनि आपत्ति जनाएको छ ।

भट्टराईले भने, ‘पञ्चायतकालीन इलाकालाई ब्युँताउने सरकारी निर्णय संघीयताको भावना विपरीत छ ।’ नयाँ शक्तिले पहिचानका ५ र सामथ्र्यका ४ आधारलाई टेकेर स्थानीय तहको पुनर्संरचना गर्न माग गरेको छ । नयाँ शक्ति नेपालले संसद्मा पूर्ण समानुपातिक प्रतिनिधित्व हुने गरी तथा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने गरी संविधान संशोधन गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया