शौचालय नहुँदा समस्या

वीरगञ्ज, १२ असोज । भारतको सीतामढीअन्तर्गत नरकटिया बस्ने ६५ वर्षीय गेनेलाल पटेल ऐतिहासिक तथा धार्मिक शक्तिपीठ गहवामाईको पूजा गर्न वीरगञ्ज आएको समयमा शौच गर्न शौचालय खोज्दा नपाएर आफूलाई सकस भएको गुनासो गर्छन् । देशकै प्रमुख आर्थिक तथा व्यापारिक नगरी वीरगञ्ज नगरक्षेत्रभित्र सार्वजनिक शौचालय नहुँदा भारतीय नागरिक पटेलजस्तै सबैले समस्या भोग्दै आएका छन् । वैकल्पिक व्यवस्था र विनापूर्वाधार वीरगञ्ज उपमहानगरपालिकाले हतारमा वडाहरूलाई दिसामुक्त क्षेत्र घोषणा गर्ने गरेको भए पनि शौचालयको अभाव रहेको स्थानीयवासीको गुनासो छ ।

सन् २०१६ सम्म विभिन्न नगरलाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिए पनि कर्तव्यबोधको अभावका कारण नगरपालिकाले लक्ष्यलाई पछ्याउन सकेको देखिँदैन । नगर क्षेत्रभित्र ३० वडासम्म रहे पनि १७ वडासम्म मात्र दिसामुक्त क्षेत्र घोषणा भएका छन् । २ लाख ५ हजार जनसंख्या रहेको नगर क्षेत्रभित्र २३ वटा सार्वजनिक शौचालय रहेकामा १८ वटा शौचालय मात्र सञ्चालनमा आएका छन् भने ५ वटा शौचालय बिग्रेको अवस्थामा रहेका छन् ।

नगर क्षेत्रभित्र सार्वजनिक शौचालयको कमी भएको स्वीकार्दै वीरगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख कार्यकारी प्रकाश अमात्यले बजारको मुख्य ठाउँमा शौचालय बनाउन नसकेकाले यो समस्या देखापरेको बताए । वीरगञ्ज बजारको मुख्य चोक माईस्थान र आदर्शनगरमा भने एउटा पनि शौचालय नभएको भए पनि वडा नं २ र ४ मा २ वटा सार्वजनिक शौचालय बनाउन महानगरपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

नगर क्षेत्रभित्रको मुख्य सडक विस्तार भएपछि थप शौचालय बनाउने लक्ष्य नगरपालिकाले लिएको सामाजिक विकास महाशाखाका प्रमुख सुनीलकुमार कर्णले बताए । उपमहानगरपालिका घोषणा भएको १८ वर्ष पूरा हुँदा पनि पर्याप्त मात्रामा नगर क्षेत्रमा सार्वजनिक शौचालय नहुनुमा नगरपालिकाको उदासीनता भएको आरोप स्थानीयवासीले लगाएका छन् ।

प्रतिक्रिया