यातायात व्यवसायीद्वारा बिपी राजमार्ग बन्द

सिन्धुली, १२ असोज । यातयात व्यवसायीले बुधबार बिहान ९ः३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् । मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी साधन तेस्र्याएर बन्द गरेका हुन् ।

सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय गरे पनि मंगलबार धादिङमा भएको घटनालाई लिएर निर्णय परिवर्तन गरेपछि आफूहरूले बन्द गर्नुपरेको यातायात व्यवसायीले बताएका हुन् । सरकार आफैँले गरेको निर्णय कार्यान्वयन गराउनुको साटो उल्टै व्यवसायीलाई धरासायी बनाउन खोजेको बिपी यातायात सेवा समितिमा आबद्ध व्यवसायी पुरुषोत्तम शर्माले बताए । सरकारले तत्काल अस्थायी मार्ग इजाजत नदिएसम्म राजमार्ग बन्द गराउने उनको भनाइ थियो । सिन्धुलीका बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायातलगायत जिल्लाका झन्डै १ दर्जन यातायात व्यवसायीले मार्ग इजाजतको माग गर्दै बिपी राजमार्ग अवरुद्ध गरेका हुन् ।

यसैबीच जिल्ला सशस्त्र प्रहरी बल बेस क्याम्प सिन्धुलीका प्रहरी नायब उपरीक्षक यदुविक्रम कार्कीले राजमार्ग कुनै पनि हालतमा बन्द गर्न नपाइने बताए । यातायात व्यवसायीले बिपी राजमार्गको विभिन्न स्थानमा बस तेस्र्याएर गरेको बन्दले सिन्धुली हुँदै उदयपुर, झापा, मोरङ, हिलेबाट राजधानी हिँडेका दजनाँै यातायात सिन्धुलीमा रोकिएका छन् भने काठमाडौँबाट सिन्धुली हँुदै घर हिँडेका यात्रु पनि अलपत्रमा परेका छन् ।

प्रतिक्रिया