संविधान कार्यान्वयन नभए राष्ट्रियता खतरामा : मन्त्री लेखक

काभ्रे, १२ असोज । तराईको समस्यालाई सरकार परिवर्तनको एजेन्डा मात्रै बनाउँदै आएको र यसलाई परिमार्जन गरी समस्याको सामाधानद्वारा नै राष्ट्रिय एजेन्डा बनाउनुपर्ने कांग्रेस नेता तथा भौतिक तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले बताएका छन् । देशले पाएको संविधान कार्यान्वयन गरी स्थानीय निकायको चुनाव नगरे देश खतरातर्फ जाने बताए । बुधबार काभ्रेको सदरमुकाम धुलिखेलमा नेपाल जेसिजको क्षेत्रगत सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘संविधान कार्यान्वयन नभए राष्ट्रियता नै खतरामा छ ।’ उनले भने ।

परिवर्तन आफैँबाट सुरु गर्नुपर्ने भन्दै उनले संविधान बनेकोमा गर्व गर्नुको सट्टा संविधान बनेपछि संविधानकै विषयमा तराईमा आन्दोलनले हिंसात्मक गतिविधि भएको स्मरणसमेत गरेका छन् । सबै नेपालीको लागि समेटिएको संविधानमा कसैको असन्तुष्टि भए कुन विषयमा कहाँ हो ? स्पष्ट राख्नुपर्नै र सो पछि संशोधन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

दलहरूको समीकरणको आधारमा सरकार बनाउनको लागि मात्रै राष्ट्रिय एजेन्डाको रूपमा तराई समस्यालाई उठान गर्नु मुख्य समस्या भएको भन्दै उनले संविधानको कार्यान्वयनको चरणमा न्यायपालिका र संघीयताको आधारमा जनअदालतदेखि सबै बनाइसकेको र पुनर्संरचनामा हुनुपर्ने सबै विषयवस्तुहरूलाई समावेश गरी सबै राजनीतिक दल एकै ठाउँमा बसेर छलफलका साथ टुंगो लागेको बताए । उनले निर्वाचनको ढोका खुलिसकेको भन्दै स्थानीय पुनर्संरचनाको सवालमा यस्तो किसिमको संरचनागत निर्माणमा सबैसँग सहमति भइसकेको बताए ।

कार्यक्रममा जेसिजले व्यक्तित्व विकास गर्दै विधि र विधानको शासन गर्नुपर्ने सर्वमान्य धारणा बोकेको प्रति सबैले पाठ सिक्नुपर्ने बताउँदै आइरहेको दसैँको शुभकामनासमेत दिए । कार्यक्रममा नेपाल जेसिजका अध्यक्ष रबिन्द्र गुरुङ, नेपाल जेसिजको क्षेत्र नम्बर सीअन्तर्गत पर्ने सबै जिल्लाका अध्यक्षहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया