एमालेले बनायो विभिन्न कार्यदल

पाँचथर, १२ असोज । पाँचथर एमालेले जिल्लाको समग्र विकासका लागि सम्भाव्यताहरूको अध्ययन गर्न १३ ओटा विषयगत सम्भाव्यता अध्ययन कार्यदल निर्माण गरेको छ । जिल्लाको तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकासका सम्भावनाहरूको खोजी गर्न एमाले पाँचथरको ११औँ पूर्ण बैठकले १३ वटा कार्यदल निर्माण गरेको हो ।

अध्यक्ष राजकुमार भण्डारीको संयोजकत्वमा विद्युत् तथा सिँचाइ अध्ययन कार्यदल, उपाध्यक्ष भूवानीप्रसाद लिङ्देनको संयोजकत्वमा स्थानीय विकास, सहरी विकास र खानेपानीको विकास, सचिव तिवेन्द्रराज चापागार्इंको संयोजकत्वमा शिक्षा, स्वास्थ्य, जनसंख्या, श्रम र रोजगारसम्बन्धी कार्यदल बनेको छ । यस्तै उपसचिव धनकुमार फियाकको संयोजकत्वमा सडक, रेल वे, रोप वे तथा केबलकार विकास, जिल्ला कमिटीका सदस्य नरबहादुर गुरुङको संयोजकत्वमा संस्कृति, पर्यटन र नागरिक उड्ययन कार्यदल बनेको छ भने जिल्ला कमिटीका सचिवालय सदस्य कमल जवेगूको संयोजकत्वमा कृषि, भूमिसुधार, सहकारी र गरिबी निवारण कार्यदल बनाइएको छ ।

जिल्ला कमिटीका सचिवालय सदस्य मुक्ति आचार्यको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति कार्यदल बनाइएको छ । जिल्लासदस्य वीरबहादुर कुरुम्वाङको संयोजकत्वमा वन, वातावरण, नदी नियन्त्रण र भू संरक्षण कार्यदल बनेको छ भने सूचना, सञ्चार तथा विज्ञान प्रविधि अध्ययन कार्यदलको संयोजकमा जिल्ला कमिटीका सचिवालय सदस्य प्रेम रिजाललाई तोकिएको छ । यस्तै एमालेले युवा, खेलकुद तथा सुरक्षासम्बन्धी कार्यदल जिल्ला कमिटीका सचिवालय सदस्य महेन्द्रविक्रम थाम्सुहाङको संयोजकत्वमा निर्माण गरेको छ । जिल्ला कमिटी सचिवालय सदस्य रुपा नेम्वाङको संयोजकत्वमा महिला, बालविकास तथा समाज कल्याण कार्यदल बनेको छ । यस्तै सचिवालय सदस्य सुवास योङ्याको संयोजकत्वमा शान्ति, भूकम्प तथा पुनर्निर्माण कार्यदल बनेको छ भने जिल्ला सदस्य छवी लावतीको संयोजकत्वमा कानुन, न्याय र संसदीय व्यवस्था कार्यदल बनाइएको एमाले पाँचथरले जनाएको छ ।

समितिहरूले आगामी ५ वर्षलाई तत्कालीन, १० वर्षलाई अल्पकालीन र ३५ वर्षलाई दीर्घकालीन समय मानेर उक्त अवधिमा के–के कार्य गर्न सकिन्छ भनेर सम्भाव्यता अध्ययन गर्नेछ । सबै विषयगत कार्यदलमा विषयअनुसार विज्ञता हासिल गरेका वुद्धिजीवी र प्राविधिकको सहयोग लिने एमालेले जनाएको छ । आगामी ४ महिना भित्रमा सबै कार्यदलले जिल्ला कमिटीलाई प्रतिवेदन बुझाइसक्ने चापागार्इंले जानकारी दिए । सोमबार प्रेस चौतारी पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत एमाले पाँचथरले उक्त कुराको जानकारी दिएको हो । सालिन युवा पत्रकार तथा चौतारीका अध्यक्ष तुलसी थापाको अध्यक्षतामा कार्यदल घोषणा गरिएको हो ।

प्रतिक्रिया