मधेसमा दुई प्र्रदेश मात्रै : पशुपति शम्शेर

काठमाडौं, १३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मधेसमा दुई प्रदेश बनाउनुपर्ने धारणा राखेका छन् । मधेसी दलहरुले उठाउँदै आएको धारणा जस्तै उनले पूर्वमा एक र पश्चिममा एक गरी मधेसमा दुई प्रदेश बनाउन उपयुक्त हुने धारणा सार्वजनिक गरेका छन् ।

पार्टीको प्रचार विभागले दसैँ, तिहार, छठलगायत पूर्वको अवसरमा बुधबार राजधानीमा आयोजित शुभकामना कार्यक्रममा सञ्चारकर्मीहरुसँग अध्यक्ष राणाले धारणा राख्दै भने । ‘मैले भने जस्तै गरी सम्बोधन गर्ने हो भने मधेसी दलहरुको धारणा सम्बोधन हुने छ । राणाले प्रश्न गर्दै भने, ‘पूर्वमा मधेसकै मात्र एक प्रदेश हुन हुने, पश्चिममा चाहिँ किन नहुने ? पश्चिमको प्रदेशमा अनावश्यक रुपमा केही पहाडी जिल्लाहरु हालिएको छ, तिनलाई हटाउनुपर्छ ।’

कार्यक्रममा केही सञ्चारकर्मीले संविधान संशोधनको बारेमा पार्टीको आधिकारिक धारणा के हो भनी गरेको प्रश्नमा राणाले भने । संविधान संशोधन आवश्यक छ, मधेसी, जनजाति आदिलाई चित्त नबुझाएर संविधान कार्यान्वयन हुँदैन । संविधान कार्यान्वयनको लागि संशोधन आवश्यक छ । संविधानमा धर्मनिरपेक्षताको स्थानमा हिन्दु गणतन्त्र राख्नु पर्ने उनले बताए ।

अध्यक्ष राणासँग सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफमा अगाडि भने । ‘संविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो धारणा हुँदाहुदै केही विषयमा हाम्रो पार्टीको स्पष्ट धारणा छ । जस्तो– अंगीकृत नागरिकलाई मुलुकको राष्ट्रपति, प्रधानमन्त्री दिनुपर्छ भन्ने धारणासँग राप्रपा सहमत छैन, त्यस्तै कामकाजको भाषा नेपाली नै बनाउनुपर्छ भन्ने हाम्रो स्पष्ट माग छ ।

सिमाकंनको विषयमा मधेसमा दुई प्रदेश हुनुपर्छ, पूर्वमा एक र पश्चिममा एक । पूर्वमा भइसकेको छ । अब पश्चिममा पनि तराईको एउटा प्रदेश बनाउनुपर्छ । अनावश्यक रुपमा पहाडका केही जिल्ला जोडिएको छ, तिनलाई हटाउनुपर्छ । पूर्वमा तराईको मात्र प्रदेश हुन्छ भने पश्चिममा नहुने के छ र ? उनले संविधान संशोधनको सवालमा भने, विधेयक पेश गर्न गाह्रो छैन, तर पारित गर्न गाह्रो भएकोले यसका लागि सबैसँग सम्वाद अघि बढाउनुपर्ने बताए । स्थानीय तह पुनर्संरचनामा बारे राणाले प्रष्ट भने, ‘तीन दलले गरेको निर्णय हामीलाई मान्य छैन । अहिले भएकै संरचनामा स्थानीय निकायको चुनाव गर्नुपर्छ । स्थानीय निकाय कस्तो हुने भन्ने चाहिँ पछि प्रान्त बनेपछि उनीहरुलाई नै तय गर्न दिनुपर्छ ।

राप्रपा नेपालसँगको एकता प्रक्रियाबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा राणाले भने, ‘हाम्रो तर्फबाट एकताको ढोका बन्द भएको छैन । एकता हुन सक्छ उहाँहरुको भूमिका हेर्दै छौँ ।’

प्रतिक्रिया