काठमाडौं, १३ असोज । संसद्मा सांसदहरूले बुधबारको बैठकको शून्य समयमा बोल्दै मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद अइन्द्रसुन्दर नेम्वाङले बेर्सेनी विषालु च्याउ खाएर सर्वसाधारणको ज्यान गइरहेकोले यसप्रति सरकारले विशेष ध्यान दिनुपर्ने तथा यसको दीर्घकालीन समाधानको उपायको खोजी गर्नुपर्ने बताए ।
सांसद अञ्जली श्रेष्ठले पृथ्वी राजमार्गमा दुर्घटना बढ्दै गएको सम्बन्धमा पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद अञ्जना चौधरीले पश्चिम तराईमा बाढीपीडितको पुनस्र्थापनाका लागि कुनै सरकारी पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यस्तै सांसद अनिता देवकोटाले निरंकुश शासक झै नेपाली भाषामा हस्तक्षेप भएको र यसले भाषाका क्षेत्रमा अराजकता र अन्यौलता सिर्जना भएको बताए ।
सांसद अनुराधा थापामगरले राजधानीका सडकका दुर्दशाले जनताले सास्ती खेप्नुपरेको भन्दै सडक सुधारका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद आनन्दी पन्तले टीकापुर घटनाका बारेमा अपराधीलाई कारबाहीको सट्टा सफाइ दिने कार्यको विरोध गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरे ।
सांसद आशा यादवले बाढीबाट पूर्वी तराईको सिमानामा हजाराँै बिगाहा जमिन कटानमा परेको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद कमलाकुमारी घिमिरेले सरकारको सूचीमा नपरेका भूकम्पपीडितले सरकारी सुविधा पाउन नसकेको गुनासो गर्दै तत्काल छानबिन गरी यसको समाधान गर्न आग्रह गरे ।
सांसद कलसादेवी महराले कञ्चनपुरमा एक हुल जंगली हात्तीको बथानले धानबाली नष्ट गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद काशीनाथ अधिकारीले कुनै पनि घटनाका बारेमा सरकारले आयोग बनाउने र ती आयोगले दिएको प्रतिवेदनको कार्यान्वयनमा बेवास्ता गर्ने भएकाले कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको बताए ।
सांसद केदारप्रसाद सन्ज्यालले दैनिकजसो हुने सडक दुर्घटनाका कारणको खोजी गरी यसको न्यूनीकरणका लागि पहल गर्न सरकारसँग आग्रह गरे । सांसद केशरी घर्तीमगरले चाडवाडका क्रममा बढ्दै गएको दुर्घटनाका बारेमा सरकारसँग उचित व्यवस्थापन गर्न माग गरे । सांसद कौसर साहले सार्वजनिक यातायातमा महिला बढी पीडित हुने भएकाले त्यसतर्फ ठोस कदम चाल्न सरकारसँग आग्रह गरे ।
प्रतिक्रिया