काठमाडौं, १३ असोज । पच्चीसौ अन्तर्राष्ट्रिय सूचना अधिकार दिवसका अवसरमा ४५ कार्यालयबाट सूचना माग गरिएको छ । सूचनाको क्षेत्रमा लामो समय काम गरेको संस्था फ्रिडम फोरमको अगुवाइमा बुधबार काठमाडौंका ४५ कार्यालयबाट सूचना माग गरिएको हो ।
फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल र सूचनाको हकका अभियान्ता कुमार चौलागाईंले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, अर्थ, सहरी विकास, रक्षा, भौतिक पूर्वाधार तथा यातायातलगायत ३० मन्त्रालयबाट सूचना माग गरे । यस्तै त्रिभुवन विश्वविद्यालय, नागरिक उड्डयन प्राधिकरण, नेपाल राष्ट्रबैंक, निजामती किताबखाना, सैनिक विश्वविद्यालय, संसद् सचिवालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय योजना आयोगलगायत कार्यालयबाट पनि सूचना माग गरिएको दाहालले बताए ।
उनले ती मन्त्रालय तथा कार्यालयमा रहेका सवारीसाधन, तिनका अवस्था, इन्धन र खर्चको विवरण माग गरिएको जाकारी दिए । दाहालले सूचनाको हक प्रत्याभूति भएको २५ वर्ष तथा सूचनाको हकसम्बन्धी ऐन आएको १० वर्ष हुँदासम्म पनि सूचनाको हकबारे जनता अझै अनभिज्ञ रहेकाले आफूले सूचना माग गरेको उल्लेख गरे ।
प्रतिक्रिया