पुष्पलाल मार्गमा अप्टिकल फाइबर ओछ्याइने

काठमाडौं, १२ असोज । मध्यपहाडी (पुष्पलाल) मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ ।

सोसम्बन्धी सम्झौतामा बुधबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो । दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको २ हजार ३ सय ७६ किलोमिटर दूरीमा उच्च क्षमताकोे ‘अप्टिकल फाइबर नेटवर्क’ निर्माण, सञ्चालन र मर्मत गर्ने उल्लेख छ ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीबीच भएको हस्ताक्षरमा सो कार्यका लागि करिब ४.८८ अर्ब लाग्ने अनुमान छ ।

सञ्चार सचिव थपलियाले समयमै काम सम्पन्न गर्न शुभकामना दिँदै बोर्ड ब्यांक सञ्जाल स्थापना गर्न सो सम्झौता कोसेढुंगा सावित हुने बताए । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले ३२ जिल्ला सो कार्यले बोर्ड ब्यांक कनेक्टिभिटी विस्तारका साथै सेवाका मूल्यमा कमी हुने अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया