माओवादी केन्द्रमा केन्द्रीय सदस्य आकांक्षी ९ हजार

paris_danda-Maoकाठमाडौं, १३ असोज । सत्तारूढ माओवादी केन्द्रमा केन्द्रीय समिति सदस्य बन्न चाहनेको संख्या ९ हजार पुगेको छ । २५ सय जनाको महाधिवेशन आयोजक समिति बनाएर पार्टीभित्रै आलोचित बनेको माओवादी केन्द्रमा आकांक्षीको संख्या ९ हजार पुगेको हो । स्रोतका अनुसार माओवादी केन्द्रका नेता एवं संगठन समायोजन समितिका संयोजक वर्षमान पुन अनन्तको हातमा ९ हजार जनाको नामावली पुगेको छ ।

संयोजक पुनले ‘आकांक्षीको संख्या बढेको’ बताए पनि संख्या खुलाउन चाहेनन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले केन्द्रीय समितिमा आकांक्षीको संख्या दिनानुदिन बढ्दै गएको स्वीकारिन् । पछिल्लो समय केन्द्रीय समितिमा आकांक्षा राख्नेको संख्या ९ हजार पुगेको उनले पुष्टि गरिन् । ‘९ हजार जनालाई नै हामीले केन्द्रीय समितिमा राखेका छैनौँ’, प्रवक्ता भुसालले भनिन्, ‘हाम्रो केन्द्रीय समिति चाहिँ २ हजार ४ सय ८३ कै हो । ९ हजारलाई नै केन्द्रीय समितिमा रहनुपर्ने दबाब आएपछि हामीले राष्ट्रिय भेला बोलाएका हौँ ।’ संख्या घटाउन राष्ट्रिय भेला केन्द्रीय समितिमा बस्न चाहनेको संख्या बढ्दै गएपछि संयोजक पुनको पहलमा माओवादी केन्द्रले केन्द्रीय समितिको संख्या घटाउन भन्दै गत शनिबार, आइतबार र सोमबार ३ दिनसम्म लगातार बैठक गरेको थियो । आकांक्षी व्यवस्थापन गर्न नसकेपछि माओवादी केन्द्रले आउँदो १० र ११ कात्तिकमा राष्ट्रिय भेला गर्ने निर्णय गरिसकेको छ । विभाजित माओवादी घटकबीचको ६ जेठमा भएको एकतापछि बनेको माओवादी केन्द्रको केन्द्रीय समिति संख्या बढ्दै गएपछि सानो आकारको केन्द्रीय समिति बनाउन माओवादी केन्द्रले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो ।

बुधबार काठमाडौंमा भएको प्रेस सेन्टर नेपालको कार्यक्रममा माओवादी केन्द्रकी प्रवक्ता भुसालले ‘माओवादी केन्द्रको जम्बो आयोजक समिति हास्यास्पद बनेको’ टिप्पणीसमेत गरिन् । माओवादी केन्द्रका एक कार्यालय समिति सदस्यले ‘अराजक र व्यक्तिवादी प्रवृत्तिका कारण संगठन भद्रगोल’ भएको बताए । माओवादी घटकको एकतापछि भएको संयुक्त एकता अधिवेशनले ४ सय ९९ जनाको केन्द्रीय समिति बनाएको थियो । आकांक्षीको संख्या बढ्दै गएपछि देशभर एकताको सन्देश प्रवाह गर्ने भन्दै माओवादी केन्द्रले ६ सय ९९ जनाको केन्द्रीय समिति निर्माण गरेको थियो । ६ सय ९९ जनाभित्र पनि आकांक्षी नअटेपछि माओवादी केन्द्रले १ हजार ९९, १ हजार ४ सय ९९ गर्दै २ हजार ४ सय ८३ जनाको केन्द्रीय महाधिवेशन आयोजक समिति बनाएको थियो ।

प्रतिक्रिया