काठमाडौं, १३ असोज । आउँदो नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा हुने १९औँ सार्क शिखर सम्मेलनमा अफगानिस्तान, बंगलादेश, भारत र भुटानले भाग नलिने जनाएका छन् । योसँगै उक्त शिखर सम्मेलन स्थगित हुने निश्चितप्रायः भएको छ । तर, यस सम्बन्धमा अध्यक्ष राष्ट्र नेपालले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
२ वर्षअघि काठमाडौंमा आयोजित सार्कको १८औँ शिखर सम्मेलनबाट १९औँ सम्मेलन इस्लामावादमा गर्ने तय भएको थियो । तर, पछिल्लो समय भारत र पाकिस्तानबीचको तनावका कारण सम्मेलन नै स्थगित हुने अवस्था आएको हो । भारतले पाकिस्तानमा आयोजना हुने शिखर सम्मेलनमा नजाने जनाएसँगै अन्य मुलुकले पनि भाग नलिने भएका छन् ।
बंगलादेशले आफ्नो देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप बढेको भन्दै सार्क सम्मलेनमा भाग नलिने जनाएको हो । त्यसैगरी भुटानले यो क्षेत्रमा आतंकवादी घटनामा वृद्धि भएकोले सार्क शिखर सम्मेलनको सफलतामा प्रश्न उठाउँदै आफू सहभागी हुन नसक्ने जनाएको छ । त्यसैगरी अफगानिस्तानले पनि अप्रत्यक्ष रूपमा आफ्नो देशमा भएको आतंकवादी घटनाहरूमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै ती घटनाका कारण राष्ट्रपति असरफ घानी देशभित्रै व्यस्त हुने भएकोले शिखर सम्मेलनमा उपस्थित हुन नसक्ने जनाएको छ ।
भारतले पछिल्लोपटक पठानकोट र उरी हमला पाकिस्तान प्रायोजित रहेको भन्दै संयुक्त राष्ट्रसंघमा पाकिस्तानलाई एक्ल्याउन प्रस्ताव राखेको थियो । दक्षिण एसियामा पनि भारतले पाकिस्तानलाई एक्ल्याउने रणनीतिअनुरूप कूटनीतिक पहल गरिरहेको छ । पाकिस्तानले भने आफूमाथि आतंकवादको प्रायोजन गरेको आरोप निराधार रहेको भन्दै कश्मिरी जनतामाथिको भारतीय दमनलाई ओझेलमा पार्न भारतले आफूमाथि आरोप थोपरेको बताएको छ । उसले कश्मिर भारतको अभिन्न हिस्सा भएको दावीलाई अस्वीकार गर्दै सो क्षेत्र भारतले सैन्य बलको आधारमा कब्जामा लिएको र व्यापक मानवअधिकार उल्लंघन गरेको आरोप लगाएको छ । दक्षिण एसियाली मुलुकहरूमा बढ्दो तनाव र अशान्तिका कारण सार्कको भविष्यमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
प्रतिक्रिया