काठमाडौं, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिसहितका पदाधिकारीले मंगलबार भेटी प्रतिष्ठानलाई थप बजेट सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनीहरूले प्रज्ञा–प्रतिष्ठानले मनाउन लागेको हीरक जन्मोत्सवका लागि आवश्यक खर्च र राष्ट्रिय प्रतिभा उपचार कोषका लागि आर्थिक सहयोगको माग गरेका थिए ।
प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीका अनुसार प्रतिष्ठानका संरक्षक प्रधानमन्त्रीलाई आफूहरूले हीरक जन्मोत्सवमा साहित्यकारलाई सम्मान गर्ने र पुरानो पुस्तकालयलाई व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराइदिन अनुरोध गरेको बताए ।
जवाफमा प्रधानमन्त्री दाहालले आफू प्राज्ञिक उन्नयनका पक्षमा रहेको र प्रतिष्ठानका लागि आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । सदस्य सचिव गिरीले भने, ‘प्रधानमन्त्रीसँग हामीले राष्ट्रिय प्रतिभा उपचार कोषमा आर्थिक सहयोग गर्न र आजीवन सदस्यका लागि भत्ताको प्रबन्ध मिलाइदिन अनुरोध ग¥यौँ, जवाफमा उहाँले त्यसका लागि आफू सकारात्मक रहेको भएको बताउनुभयो ।’
प्रधानमन्त्री दाहालसँग मंगलबारै मानवअधिकारकर्मीको टोलीले भेटी संवैधानिक मूलधार निर्माण गरी शान्ति प्रक्रिया टुंयाउन सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनहरूले प्रधानमन्त्रीले पाएको यस अवसरलाई सदुपयोग गरी शान्ति प्रक्रिया पूरा गर्न सघन प्रयास गर्न सुझाव दिएका हुन् ।
भेटमा सहभागी पूर्वसभामुख दमननाथ ढुंगानाले भने, ‘प्रधानमन्त्रीलाई संवैधानिक मूलधार निर्माण गर्नका लागि आन्दोलनरत दल र प्रतिपक्षसँग सघन वार्ता गर्न आग्रह गरेका छौँ ।’ उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र मधेसी तथा जनजातिलाई यसै संविधानमा आउने अवस्था सिर्जना गर्ने वातावरण बनाउन सुझाएको बताए ।
जवाफमा प्रधानमन्त्रीले टोलीको सुझावप्रति धन्यवाद ज्ञापनका साथ शान्ति प्रक्रियामा मानवअधिकारकर्मीले खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका थिए । भेटमा पद्मरत्न तुलाधर, वीरेन्द्र मिश्र पनि सहभागी थिए ।
प्रतिक्रिया