काठमाडौं, १२ असोज । नेपाल वायुसेवा निगमले दसैँलाई लक्षित गर्दै बुधबारदेखि सिमरा, भैरहवा र पोखरामा उडान भर्ने भएको छ । दशैंमा यात्रुको चाप बडने हुदाँ त्यसको व्यवस्थापनका लागि उडान भर्न लागिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
‘सिमरा, भैरहवा र पोखरामा बुधबारदेखि दैनिक एक उडान भर्ने निर्णय भएको छ,’ शर्माले भने, ‘यसले दसैँमा यात्रुको आवागमनलाई सहज बनाउने शर्माको दाबी छ ।’ शर्माका अनुसार पोखराको फ्लाइट बिहान ६ः३० बजे हुनेछ । त्यसैगरी, सिमराको बिहान ८ः३० बजे र भैरहवाको फ्लाइट बिहान १०ः३० बजे हुनेछ । पोखराको २५ सय ५०, सिमराको २२ सय २५ र भैरहवाको ३ हजार २५ रूपैयाँ भाडा तोकिएको शर्माले जानकारी दिए ।
निगमले सिमरामा ५ वर्षपछि उडान भर्न लागेको हो । पोखरा र भैरहवामा भने जहाज विग्रिएका कारण केही महिनायता उडान रोकिएको थियो । ‘विग्रेका जहाज बनिसकेका छन्, त्यसैले थप उडान गर्न लागेका हौँ’, उनले भने । निगमले हाल ४ वटा जहाजमार्फत आन्तरिक उडान र ३ वटा जहाजमार्फत अन्तराष्ट्रिय उडान भर्दै आएको छ ।
हाल निगमसँग आन्तरिक उडानका लागि २ वटा ट्वीनअटर जहाज छन । एमए ६० एउटा र अर्को एक चाइनिज १८ सिटको वाइ १२ मार्फत पनि निगमले आन्तरिक उडान भर्दै आएको छ ।
प्रतिक्रिया