किरात संग्रहालयका लागि सांगीतिक साँझ

ffdgकाठमाडौं, १२ असोज । किरात राई यायोक्खा प्रारम्भिक समिति रिब्दुङ महेश्वरीले खोटाङ जिल्लाको उत्तरी क्षेत्रलाई समेट्ने गरी किरात संग्रहालयको निर्माण गर्ने भएको छ । थुलुङ तथा दुमी भाषी समुदायको बृहत् वसोवास स्थल रहेको रिब्दुङ–३ धिनाडाँडामा संग्रहालय स्थापना गर्न लागिएको यायोक्खा रिब्दुङका अध्यक्ष मनसुन राईले जानकारी दिएका छन् ।

संग्रहालय निर्माणको सहयोगार्थ आगामी दिपावलीको अवसरमा बृहत् सांगीतिक साँझको समेत आयोजन गर्न लागिएको सो समितिका अध्यक्ष राईले जनाएका छन् । किरात राई समुदायको सांस्कृति, मौलिक तथा ऐतिहासिक सामग्रीहरू विस्तारै लोप हुँदै गएकाले यसको संरक्षणमा युवाहरूले चासो दिनुपर्ने बताउँदै संग्राहलय निर्माणको अभियान थालिएको कार्यक्रम संयोजकसमेत रहेका युवालेखक तथा साहित्यकार खुक्सङ खम्बुले जानकारी दिए ।

‘रिब्दुङ सांगीतिक साँझ–२०७३’ नाम दिएर कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिँदै खम्बुले राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको उपस्थितिमा आगामी १२ कातिकमा कार्यक्रम गर्न लागिएको बताए । कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जितेन राई, गायिका पार्वती राई, गायक तथा संगीतकार पदम थुलुङ, गायिका तथा संगीतकार निमल रोजु राई, गायक जनम थुलुङलगायतको प्रस्तुति रहने यायोक्खा सचिव अनिशा राईले जानकारी दिइन् ।

साथै कार्यक्रमलाई अझ बृहत् बनाउन जिल्ला स्तरीय साकेला तोषी नृत्य प्रतियोगिता, युवा प्रतिभा खुल्ला प्रतियोगिताअन्र्तगत (गायन, नृत्य, अभिनय र साहित्य )लाई समेटिने आयोजक समितिका सदस्य तथा कवि उदिम किरातीले जानकारी दिए । रिब्दुङ महेश्वरीको ज्योति प्रावि, धिनडाँडामा हुने कार्यक्रमको प्रस्तुति व्यावसायीक होस्ट साहाष राईले गर्नेछन् ।

प्रतिक्रिया