एक सय २१ जनाको पद रिक्त

रोल्पा, ११ असोज । रोल्पा जिल्लाका १० वटा सरकारी कार्यालयमा मात्र दरबन्दीअनुसार १ सय १४ जनाको पद रिक्त रहेको सम्बन्धित कार्यालयले जनाएका छन् । लामो समयदेखि दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति हुन नसक्दा हरेक सेवा प्रवाहमा कठिनाइ हुने गरेको कार्यालय प्रमुखहरूको गुनासो छ । ‘हामीले हाम्रा कार्यालयबाट सकेजति सेवा प्रवाह गरिरहेका छौँ तर रिक्त पद पूर्ति हुनसके सेवाग्राहीलाई अझ सहज रुपबाट सेवा प्रदान गर्न सकिने थियो, ’ प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले भने ।

उनका अनुसार जिप्रका रोल्पालगायत मातहतका एकाइमा ४४ जनाको पद रिक्त रहेको छ । जसअन्तर्गत प्रहरी निरीक्षक २, प्रहरी सहायक निरीक्षक ३, प्रहरी हवल्दार १८ र प्रहरी जवान २१ गरी ४४ जनाको पद रिक्त रहेको हो । यसैगरी जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा जनस्वास्थ्य अधिकृत एक, मेडिकल रेकर्डर एक, प्यारामेडिक्स १२ र कार्यालय सहयोगी चार गरी जम्मा १८ जना कर्मचारीको पद रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिए ।

यस्तै जिल्ला कृषि विकास कार्यालयमा बागवानी विकास अधिकृत १, योजना अधिकृत २, प्राविधिक सहायक ५, नायब प्राविधिक सहायक ३ र कार्यालय सहयोगी ३ गरी जम्मा १४ जनाको पद रिक्त रहेको कार्यालयका प्राविधिक सहायक महेन्द्र पुनले जानकारी दिए । यसैगरी जिल्ला शिक्षा कार्यालयमा शाखा अधिकृत २, विद्यालय निरीक्षक ४, लेखा अधिकृत १, प्राविधिक सहायक ३ गरी जम्मा १० जनाको पद रिक्त रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए ।

त्यसैगरी जिविसको कार्यालय रोल्पा र मातहतका गाविसका कार्यालयमा पनि करिब १ वर्षदेखि योजना अनुगमन तथा प्रशासकीय अधिकृत १ सहित अन्य ७ जना गाविस सचिवको पद रिक्त रहेको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिएका छन् । यस्तै जिल्ला वन कार्यालय रोल्पामा फरेस्टर ४, खरिदार १, वन रक्षक २ र सहायक वन अधिकृत ३ गरी १० जनाको पद रिक्त रहेको जिल्ला वन कार्यालय रोल्पाका निमित्त जिल्ला वन अधिकृत भीमबहादुर कालीकोटेले जानकारी दिए ।

जिल्ला पशु सेवा कार्यालय रोल्पामा अधिकृत १, नायब पशु सेवा तथा नायब पशु स्वास्थ्य प्राविधिक ६ गरी जम्मा ७ जनाको पद रिक्त रहेको जिल्ला पशु सेवा कार्यालय रोल्पाका कार्यालय प्रमुख नन्दलाल चौधरीले जानकारी दिए । यसैगरी जिल्ला प्राविधिक कार्यालय रोल्पामा इन्जिनियर २, असिस्टेन्ट इन्जिनियर २ र कम्प्युटर अप्रेटर गरी ५ जनाको पद रिक्त रहेको छ । यसैगरी जिल्ला भू–संरक्षण कार्यालयमा भूसंरक्षक सहायक २ जनाको पद रिक्त रहेको कार्यालय प्रमुख प्रदीपकुमार मिश्रले जानकारी दिए ।

यीबाहेक अन्य धेरै कार्यालयमा पनि दरबन्दीअनुसार पदपूर्ति हुन सकिरहेको छैन । सभामुख, उपराष्ट्रपति तथा उपप्रधानमन्त्रीको जिल्लाका कार्यालयमा यस्तो अवस्था छ भने अन्य जिल्लाको अवस्था कस्तो होला सेवाग्राहीको प्रश्न छ ।

प्रतिक्रिया