अनुदान सम्झौता अन्तिम चरणमा

काभ्रे, ११ असोज । काभ्रेका भूकम्पपीडितका लागि सरकारले दिने पहिलो किस्ताको अनुदान रकमको सम्झौता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । भूकम्पका कारण काभ्रेमा ८७ हजार घरधुरी मध्ये ६७ हजार घरधुरी विस्थापित भएका थिए ।

विस्थापित परिवारका लागि सरकारले ल्याएको अनुदान सम्झौताको पहिलो किस्ता रकम सम्झौता गर्ने कार्य अन्तिम चरणमा पुगेको स्थानीय विकास अधिकारी टेकराज निरौलाले जानकारी दिए । कतिपय भूकम्पपीडितहरूको घर क्षतविक्षत भएको भए पनि उनीहरूले विभिन्न कारण सम्झौता गर्न पाएका छैनन् । स्थानीय विकास अधिकारी निरौलाका अनुसार अनुदान सम्झौताको लागि काभ्रेबाट ६७ हजार ७ सय ११ मध्ये हालसम्म ५७ हजार ९ सय ८८ जना सेवाग्राहीसँग सम्झौता भइसकेको छ । उनले ३१ वटा बैँकमार्फत ५४ हजार ५ सय ६० जना सेवाग्राहीले अनुदानको पहिलो किस्ताको रकम उनीहरूको खातामा पठाइ सकिएको बताएका छन् । यसमध्ये २१ हजार ४ सय ३६ गुनासो आएको उनले बताए ।

उनले अनुदान सम्झौता गर्न बाँकी रहेका लाभग्राहीहरूलाई असोज २० गते भित्रै पहिलो चरणको अनुदान सम्झौता सक्ने बताएका छन् । यसरी पहिलो चरणको अनुदान सम्झौता वितरण गरीरहँदा जिल्लाका करिब १५ हजार धरधुरी पीडितहरू प्राविधिक र लालपुर्जा नभएकै कारण सेवाबाट वञ्चित हुनुपर्ने हो की या सामाधान हुन्छ भन्ने विषय अन्योल नै रहेको पीडितहरूको गुनासो रहेको छ । जिल्लामा रहेका सुकुम्बासी र लालपुर्जाविहिन भएका गाउँहरू पनि यो सेवाबाट वञ्चित हुने हो की भन्ने त्रासमा रहेका छन् । सरकारको आवास सम्झौताको ५० हजारको पहिलो किस्ता दसैँ अगाडि नै सो सम्झौता गरिसक्ने निरौलाले बताए । उनले भने ‘रकम दुरुपयोग गरेको भए पीडितहरूले दोस्रो चरणमा भाग लिन नपाइने र त्यस्ताहरूलाई अनुगमन गरी सम्झौताबाटै हटाइने छ ।’

उनले प्राविधिक त्रुटि देखिएका पीडित र अरू समस्याको कारण पीडित बनेकाहरूले पनि छिटै नै सेवा पाउने बताएका छन् । जिल्लामा अधिकांश पीडितहरू मध्ये ग्रामीण भेगका पीडितहरूले अनुदान सम्झौताको रकम दुरुपयोग गरिएको बारे भने जिल्लाबाट कुनै अनुगमन हुन सकेको छैन ।

प्रतिक्रिया