थारु वस्तीमा ‘सखिया नाच’को रौनक

sakhiyaकञ्चनपुर, ९ असोज । दसैँ नजिकिँदै जाँदा कञ्चनपुरका थारु वस्तीमा ‘सखिया नाच’को रौनकता छाएको छ । कृष्णजन्माष्टमीको दोस्रो दिनदेखि सुरु हुने सखिया नाच दसैँको अन्तिम दिनसम्म हुने गर्दछ ।

कञ्चनपुर कृष्णपुरका मुक्त कमैया शिविरका भलमन्सा तुलसीराम चौधरीले हरेक दिन साँझ सखिया नाच हुने गरेको बताए । यसका साथै यहाँका अन्य थारु वस्तीमा समेत सखिया नाचको रौनक सुरु भइसकेको छ । थारु परम्पराअनुसार हुने सखिया नाचमा विभिन्न देवीदेवता, भगवानको जीवन लीलालाई गीतको माध्यमबाट गाइने गरेको भलमन्सा चौधरीको भनाइ छ ।

‘पछिल्लो समयमा सखिया नाच लोप हुने अवस्थामा आउँदैछ,’ चौधरीले भने, ‘थारु संस्कृति, कला र भेषभूषाको संरक्षणका लागि अब थारुलगायत नागरिक समाजका अगुवाले सोच्नुपर्दछ ।’

सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्णलगायत देवीदेवतालाई गीतको माध्यमले प्राथना गरी शान्ति एवं रक्षाको माग गर्ने चलन रहिआएको छ । ‘अहिले दैनिक ७०÷८० जना स्थानीय जम्मा भएर भलमन्साको घरमा सखिया नाचिरहेका छन् ।’ समाजसेवीसमेत रहेका तुलसीराम चौधरीले भने, ‘दसैँको घटनस्थापनादेखि थारुको घर–घर र गाउँ–गाउँमा यो नाच नाच्ने चलन छ ।’ उनका अनुसार सखिया नाचमा विशेषत युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गर्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुईजनालाई जिम्मेवारी दिइन्छ ।

महिलामा एकजना मोहरनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोहरनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् । त्यस्तै मादल बजाउने अगुुवा, पच्छुवा मदरियाले त्रासन मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा रहेको छ ।

सखिया नाचमा नाच्ने युवती विशेष गरी थारु पहिरनमा सजिएर नाच्ने गर्दछन् । विशेष गरी उनीहरुले फेफी, बुलकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, अ‍ैरम, मंगौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौतीजस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्दछन् ।

प्रतिक्रिया