यौनहिंसाको उजुरी सहज छैन

काठमाडौं, ६ असोज । द्वन्द्वकालका यौनहिंसाको उजुरी गर्न वातावरण सहज हुनुपर्नेमा पीडित पक्षले सरकारसँग माग गरेका छन् । द्वन्द्वकालका यौनहिंसामा संलग्न पीडक पहिचान गरी उनीहरूलाई कारबाहीको दायरमा ल्याउन तत्काल पहल गर्नुपर्ने, हिंसा प्रभावितका लागि सहयोग गर्नुपर्ने र न्यायको सुनिश्चितताका लागि जिम्मेवार संयन्त्र बनाइनुपर्नेमा आयोजित एक कार्यक्रममा उनीहरूले जोड दिएका थिए ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा महिला पुनःस्थापना केन्द्र (ओरेक), महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जाल, महिलाका निम्ति महिलामञ्च नेपाललगायत संस्थाको आयोजनामा बुधबार भएको सो कार्यक्रममा पीडितले प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग तथा स्वास्थ्य उपचारका लागि निःशुल्क र दीर्घकालीन सेवा उपलब्ध गराइ दिनुपर्ने पनि माग गरे ।

ओरेकका अध्यक्ष डा.रेणु अधिकारीले सरकारले द्वन्द्वकालमा यौन हिंसाबाट प्रभावितको दिगो जीविकोपार्जनको व्यवस्थासहित समाजमा आत्मसम्मानका साथ जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने बताइन् ।

‘यौन हिंसाबाट प्रभावित महिलाको न्याय सुनिश्चितताः दिगो शान्तिको आधार’ भन्ने नाराका साथ यौनहिंसाबाट पीडित तथा महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधिले भृकुटीमण्डपबाट बानेश्वरस्थित संविधानसभा भवनअघिसम्म पदयात्रा गरेका थिए ।

प्रतिक्रिया