‘संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन’

Sujata-Koiralaकाठमाडौं, ६ असोज । कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा संविधान कार्यान्वयनका लागि चाँडो स्थानीय निर्वाचन गराउनुपर्ने बताएकी छन् । कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिले बुधबार आयोजना गरेको ‘दसैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा सम्मान’ कार्यक्रममा नेतृ कोइरालाले छोटो समयमा धेरै निर्वाचन गराउनु चुनौतीपूर्ण रहेको बताइन् ।

कोइरालाले स्थानीय तहमा संविधानले प्रत्याभूत गरेअनुसारको महिला प्रतिनिधित्व सुनिश्चित हुनेपर्नेमा जोड दिँदै स्थानीय निकायको निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरिन् ।

उनले भनिन्, ‘पार्टीभित्रका निर्वाचनमा केही मतभिन्नता भए पनि अरू चुनाव लड्दा एक भएर लागेमात्र विजयी सुनिश्चित हुन्छ ।’ उनले संविधान कार्यान्वयनमा सबै दलहरू एक हुनु आवश्यक रहेको बताउँदै मुलुकलाई विकासको बाटोमा लैजानुपर्ने बताइन् ।

कांग्रेस पाल्पाका सांसद हरि नेपालले संविधान निर्माणसँगै राजनीतिक क्रान्ति समाप्त भएकाले अब आर्थिक क्रान्ति मुलुकलाई आवश्यक रहेको बताए । सम्पर्क समितिका अध्यक्ष गोपाल जोशी, कांग्रेस पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, इन्जिनियर एसोसिएसनका केन्द्रीय सदस्य सुरेन्द्रप्रताप श्रेष्ठ, महिला संघ केन्द्रीय सदस्य रूपा विश्वकर्मा, रमा पन्त, सीता नेपाललगायतले तराई मधेसमा देखिएको समस्या समाधान गरी संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेत्री कोइरालाले इन्जिनियर एसोसिएसनमा केही दिनअघि भएको निर्वाचनमा केन्द्रीय सदस्य पदमा विजयी श्रेष्ठ, महिला संघको केन्द्रीय सदस्य विजयी विश्वकर्मा, पन्त र नेपाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया