काठमाडौं, ६ असोज । सरकारी उच्च ओहोदाका कर्मचारीदेखि सांसदसम्मको घरमा घरेलु बालश्रम रहेको पाइएको छ । भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिकालाई आगामी चैतसम्ममा उपत्यकाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियानको क्रममा गरिएको अनुुगमनमा सो तथ्य उजागर भएको हो । अनन्तलिंगेश्वर नगरपालिका–६ स्थित सिरुटारबाट गत २० माघबाट औपचारिक रूपमा अभियान सुरु गरेको थियो । अभियानमा सक्रिय रहेको अनन्तलिंगेश्वर नगरस्तरीय बाल संरक्षण तथा संर्वद्धन उपसमितिले यस नगरपालिका क्षेत्रमा मात्रै ७८ जना घरेलु बालश्रमिक पाइएको उपसमितिका सदस्य सचिव सुनिता सिलवालले जानकारी दिइन् ।
विभिन्न जिल्लाबाट परिवार छाडेर आएका ७८ जनामध्ये १४ वर्ष मुनिका ४० जना घरेलु बालबालिका श्रममा रहेको पाइएको उनले जानकारी दिइन् । अभियानका क्रममा घरघरमा गएर गरिएको अनुगमनमा यस नगरपालिकामा क्षेत्रमा बसोवास गर्दै आएका बाहलवाला कर्मचारी, नेपाली सेनाका मेजर, नगरपालिकाका कार्यकारी अधिकृत, डिएसपी, एलडिओ, सिडिओदेखि सांसदसम्मका घरमा घरेलु बालश्रममा रहेको पाइएको सदस्य सचिव सिलवालले जानकारी दिइन् ।
अनन्तलिंगेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालसहित नगरपालिकाका कर्मचारी, जिल्ला बाल कल्याणसमिति, प्रहरी, बाल संरक्षण समितिलगायतको संयुक्त टोलीले घरघरमा अनुगमन गरेका थिए । समितिका सदस्य श्रीकृष्ण थापाले बालश्रम मुक्त नगरपालिका बनाउने अभियान रोक्न विभिन्न निकाय तथा व्यक्तिबाट धम्की आएको र केन्द्रीय बालकल्याण समितिबाट समेत निर्देशन आएको बताए । उनले भने, ‘उच्च पदस्थ व्यक्तिको घरमा बालश्रमिक पाइएपछि धेरै धम्की आएका छन्, केन्द्रीय बाल कल्याण समितिले समेत अभियान रोक्न निर्देशनात्मक दबाब दिएको छ, तर अभियान जारी राखेका छाँै ।’ कतिपय घरेलु बालश्रमिकलाई दुब्र्यबहार समेत गरेको पाइएको सदस्य थापाले बताए । ती बालश्रमिकको उद्धार गर्न बाँकिरहेको बताउँदै १५ असोजसम्म घरेलु बालश्रमिकलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराउने समय दिएको पनि उनले बताए । समयमै बालश्रमिकलाई परिवारमा पुनर्मिलन नगराए ती बालबालिकाको उद्धार गरिने र उनीहरूको नाम सार्वजनिक गरी कारबाहीको लागि अगाडि बढाइने सदस्य थापाले जानकारी दिए ।
समितिले अनुगमनकै क्रममा अनन्तलिंगेश्वर नगरपालिका–१४ मा रहेको पुष्प कार्कीको च्याउँखेतीमा शारीरिक यातना दिएर १३ वर्षका एक बालकलाई श्रममा लगाएको पाइएपछि उसको उद्धार गरेको सदस्यसचिव सिलवालले जानकारी दिए । अभियानका क्रममा बालश्रमिक नभएका घरमा हरियो झन्डा गाडेको र बालश्रम प्रयोग भएका घरमा झन्डा नगाडिएको उनले जानकारी दिए ।
प्रतिक्रिया