नमुनाका लागि मात्र बजार अनुगमन

bazar-anugamanसिन्धुली, ३ असोज । सिन्धुलीमा बजारक्षेत्रमा नियमित बजार अनुगमन नहँुदा कालोबजारी बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालयले यस आवमा अहिलेसम्म २ पटक अनुगमन गरेकामा १ पटक मात्र पेय पदार्थका मिति नाघेका ७४ सिसी नियन्त्रणमा लिई नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी वासुप्रसाद काफ्लेले बताए ।

बजार अनुगमन गरिएको र दर्ताविना सञ्चालनमा रहेका र मूल्यसूची टाँस नगर्ने पसललाई दर्तासँगै मूल्यसूची टाँस्न निर्देशन दिएको उनको भनाइ छ । हरेकपटक हुने अनुगमन सिन्धुली सदरमुकाममा केन्द्रित भएको र कालाबजारीयाबाट ठगी गर्ने गरेको उजुरीमा प्रशासनबाट कुनै सुनुवाइ नभएको आरोप स्थानीय बासिन्दाको छ ।

गत आवमा ८ पटक अनुगमन भएकामा यस आवमा २ पटक अनुगमन भएको, अनुगमनमा कुनै पनि सामग्री जफत वा कारबाही नगरिएको पाइएकाले अनुगमन झारा टार्ने काम मात्र भएको उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष इन्द्र भुजेलले बताए ।

उनले भने, ‘अनुगमनको नाममा बजारमा डुल्न टोली जान्छ तर मिति गुज्रिएको खाद्य वस्तु जफत गर्ने वा बढी मूल्य लिई उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गर्ने काम भएको छैन । सिन्धुली देशकै सबैभन्दा बढी कालोबजारी हुने ठाउँका रूपमा विकसित हुँदै छ ।’

सिन्धुलीमा साना बजार करिब २० भन्दामाथि रहेकामा अधिकांश बजारका पसल विनाअनुमति सञ्चालमा रहेको र तिनमा आफूखुसी मूल्य राखिएका उजुरी पर्दा पनि अनुगमन हुन नसकेको अध्यक्ष भुजेलले बताए । तर, दूधौली, डकाहा, हत्पते, चकमके र झागाझोलीमा उद्योग वाणिज्य संघको शाखा नै गठन भई काम गरिरहेको छ ।

उद्योग वाणिज्य संघको शाखा सञ्चालन भएका स्थानमा शाखा कार्यालयलाई अनुगमन गर्न पटकपटक पत्रचार गरेको र बेलाबेलामा अनुगमन प्रतिवेदन जिल्ला शाखामा आउने गरेको संघका जिल्ला अध्यक्ष विनेशकुमार श्रेष्ठले बताए ।

प्रत्येक महिना २ पटक बजार अनुगमन गर्ने योजना भए पनि प्रशासनमा जनशक्ति र साधनस्रोतको कमीका कारण नियमित अनुगमन हुन नसकेको जिल्लासहायक प्रजिअ काफ्लेले बताए ।

प्रतिक्रिया