भुवन केसी पुगे प्रहरीमा

Bhuwan-Kc-artist-khabarकाठमाडौं, १४ जेठ । आफ्नो पछिल्लो फिल्म ‘ड्रिम्स’को पाइरेसी भएपछि दोषी पत्तालगाई पाऊँ भन्दै निर्माता तथा अभिनेता भूवन केसी प्रहरीमा पुगेका छन् । उनले काठमाडौं प्रहरीको अपराध अनुसन्धान महाशाखा टेकु पुगेर आफूलाई अन्याय भएको भन्दै उजुरी दर्ता गराएका हुन् ।

बिहीबार दिउँसो परिसर पुगेका उनले प्रहरी निरीक्षक पशुपतिकुमार रायलाई भेटेर जतिसक्दो चाँडो फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । केसीले परिसरमा रहेको साइबर सेल शाखामा उजुरी दर्ता गराएका हुन् । उनले फिल्मको पाइरेसीका कारण आफूलाई झन्डै १ करोड रूपैयाँ बराबरको हानी भएको दाबी गरेका छन् । केसी हालै फिल्म प्रदर्शनका लागि अस्ट्रेलिया र युरोप गएर फर्किएका हुन् । उनीसँग परिसरमा अभिनेत्री जिया केसी पनि साथै पुगेकी थिइन् । केसी सो बारेमा कुरा गर्न निर्माता संघ पनि गएका छन् ।

प्रहरी परिसरले दोषी पत्तालगाई छाड्ने आश्वासन दिएको सुनाउँदै उनले विगतका केही महिनादेखि हिट फिल्मका पाइरेसी हुने संख्या बढिरहेको पनि बताएका छन् । त्यसको पछिल्लो सिकार ‘ड्रिम्स’ हो । ‘ड्रिम्स’अघि ‘प्रेमगीत’, ‘पशुपतिप्रसाद’लगायत फिल्महरूको पनि पाइरेसी भइसकेको छ ।

प्रतिक्रिया