हरियो साँझ बोकेर हिँडेको मान्छे

rajan rai copy
यो रेगिस्तानमा
उब्जिएका मिहिनेतका भविष्यहरू
र लस्करै सुकाइएका बेवारिसे सपनाका बिस्कुनहरू
अनि तिर्सना मै मेटिएका हिमाली हावाहरू
अथवा रहरैरहरमा हिँडिरहेका मलामी यादहरू
यी सबैसबै मेरा उभौली साकेलाका गीतहरू हुन्
सम्झिरहेछु, म सम्झिरहेछु
थुप्रै गैँडा र हात्तीहरू पछारेर टेबुलमा
बालुवाको सहरमा जीवन खोज्न
हरियो साँझबत्ती बालेर हिँडेको म
यो साल पनि उभौली मनमनै मनाएँ
घरमा वासिम पो छिप्पियो कि !
सम्झिएँ !

सम्झिए !
कि सिद्दियो होला आमाको आँसु ?
कि ढल्दै छ आपाको पहाड जस्तो काँध ?
कि भरिँदैछ साँहुको सन्दुस ?
वर्षै पिच्छे बहुलाइरहने रुपुवा खोला
सुर्ता लाग्यो
कि तान्दैछ पहिरोले हाम्रो विरासत ?
खोजिरहेछु म रेगिस्तानमा
यिनै सहाराहरूको सम्भावनालाई चित्तबुझ्दो जवाफ

म कसरी सम्झाउ तिमीलाई ?
गालामा गुराँसको रंग बोकेर
तिमी उँभोउँभो सिली नाच्दै जाँदा
म पसिनाको नाइलमा पौडिरहेको हुन्छु
जब क्षितिज नाघेर आउँछ
ढोल–झ्याम्टाको आवाज
म केही बेसुरा साकेला गीतहरू गुन्गुनाउँछु
अफसोच, तिमी नसुनेरै
उकालो गइरहेकी हुनेछौ
क्रमशः अझै ठूलो पहाडलाई अँगाल्न
म झन् झन् तलतल गहिराइमा भासिरहेको हुन्छु
तर, तिमी झन् अग्लिदै गइरहेको हुन्छ्यौ
त्यसैले त हर उधौँली र उभौँली
मैले सम्झना मै मनाउनु पर्छ

सूर्य पश्चिम क्षितिज नाघ्दै गर्दा
गोठालो र चराहरू बासस्थान फर्किने गर्छन्
त्यसैगरी एक साँझ म पनि त फर्किनेछु
जसरी दिनभर लाटोकोसेरो निदाउँछन्
र रातभर खेल्छन् अन्धकार सित
जसरी खोलाले ढुंगालाई खोपेर बग्छ
त्यसैगरी मिहिनेतले नै त संसार सिर्जना हुन्छ
पर्खाइले मानिसलाई झन् बढी स्नेहशील बनाइदिन्छ
औँशीमा जुन उदाउँदैन
पूर्णिमा पर्खनै पर्छ
मुहारमा खुसीको घाम छर्न आफँैले मन उघार्नुपर्छ
संसार भन्नू तिमी र म नै त हो
हामी आपँैmले शृंगार्नुपर्छ
त्यसैले,
पर्ख मलाई जीवनको उत्सव मनाउन
म सपनाको फुलहरू बोकेर
तिमीमाथिको आकाशबाट अवतरण हुन आइरहेको हुनेछु
तिम्रै आँचलको आँगनमा
साँझको झ्याउँकिरीहरू बाँस्नु अगाडि

 

प्रतिक्रिया