उदयपुरमा आँखा अस्पताल निर्माण हुने

उदयपुर, १३ जेठ । उदयपुरको सदरमुकाम गाईघाटस्थित आँखा उपचारकेन्द्रको जग्गामा १ करोड ५० लाखको लगानीमा नयाँ आँखा अस्पताल निर्माण हुने भएको छ । जापानी राजदूतावासमार्फत जापानको ग्राण्ड एसोसियसन फर ग्राक्स ह्युमन सेक्युरिटी प्रोजेक्टको सहयोगमा आँखा अस्पताल निर्माण हुने कुरा आँखा उपचार केन्द्र गाईघाटका व्यवस्थापन समितिका अध्यक्ष भागवत राउतले जानकारी दिए ।

उदयपुरको सदरमुकाम गाईघाट आइपुगेका सो शाखाकी व्यवस्थापक कुरोसाका साकिकोले गाईघाटमा आँखा अस्पताल स्थापनाका लागि १ करोड ५० लाख रकम आर्थिक सहयोग गर्ने सम्झौता गरेपछि अब आँखा अस्पताल निर्माण हुने भएको अध्यक्ष राउतले बताए । जिल्लाको सदरमुकाम गाईघाटमा ०५४ सालमा सगरमाथा आँखा अस्पताल सिरहा, लाहानको अनुमतिबाट आँखा उपचार सेवा केन्द्र सञ्चालन हुँदै आएको छ ।

अब सो केन्द्रको १ बिघा जग्गामा अन्य बजेटकोसमेत व्यवस्थापन गरेर आँखा अस्पताल नै निर्माण गर्न लागिएको अध्यक्ष राउतले बताए । आँखा अस्पताल स्थापना भएपछि उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुसम्मका जनतालाई गाईघाट आँखा अस्पतालले सहजै सुविधा प्रदान गर्न सक्ने आँखा उपचार केन्द्र गाईघाटका पदाधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया