राष्ट्रिय भेला गर्दै नयाँ शक्ति

काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला यही जेठ ३०, ३१ र ३२ गते काठमाडौंमा हुने भएको छ । पार्टीले शुक्रबार केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ ३० गते पार्टीको स्थापना घोषणासभा दशरथ रङ्गशालामा एवं ३१ र ३२ गते बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने जनाएको छ ।

‘एक लाख संस्थापक सदस्यको सहभागितामा हुने भेलाले ऐतिहासिक रूपमा नयाँ शक्तिको घोषणा सहित सामूहिक शपथग्रहण कार्यक्रम हुनेछ’, पार्टीका संयोजक डा बाबुराम भट्टराईले जानकारी दिएका छन् । उनले एकीकरण नभई ध्रुवीकरण अहिले मुलुकको आवश्यकता भएको बताए । डा भट्टराईले भने, ‘एकीकरण पुरानै कुरालाई जोड्ने र ध्रुवीकरण भनेको जगैदेखि नयाँ सिर्जना गर्ने भएकाले ध्रुवीकरणका पक्षमा हामी छौँ, नेपाली इतिहासले नयाँ विचार खोजेकाले ध्रुवीकरण अहिले आवश्यक भएको छ ।’

राजनीतिक प्रतिवेदन, आर्थिक समृद्धिको कार्ययोजना एवं आन्तरिक संगठनका आधार तथा विधानलाई जेठ ११ र १२ गते बस्ने सचिवालयको बैठकले अन्तिम रूप दिई सबैको सुझावका लागि सार्वजनिक गरिने पनि उनले जानकारी दिए । नयाँ राजनीतिक धार एक्काइसौँ शताब्दीको चुनौती सामना गर्न सक्ने गरी विचार ल्याउन लागिएको पूर्वप्रधानमन्त्री डा भट्टराईले बताए । भेला सम्पन्न गर्न १४ उपसमिति गठन गरिएको नेता खिमलाल देवकोटाले जानकारी दिएका छन् । (सौस)

प्रतिक्रिया