बुद्ध जयन्ती आज भोलि वास्तवमा विश्वभरि नै मनाउने गरिन्छ । किनभने बुद्धले जुन ज्ञानको गंगा विश्वका लागि बगाएका छन् त्यो कुनै एउटा देशका लागि नभएर विश्व मानव कल्याणका निम्ति थियो र हो । आजभन्दा २५६०औँ वर्ष पहिले अर्थात् इसापूर्व ४६३ मा नेपालको कपिलबस्तु जिल्लामा पर्ने शाक्य गणतन्त्रमा जन्मेका राजा शुद्धोधनका छोरा सिद्धार्थ गौतम आफ्नो ज्ञान, विवेक र वुद्धिको बलले पछि सिद्धार्थ गौतम बुद्ध बने । विश्वमा समग्र सामाजिक हित, समानता र न्यायको निम्ति राजमहलको सुखसयल, विलास र वैभवको त्याग गर्न अघि सरेका ती ऊर्जाशील युवा महात्मा गौतम बुद्धजस्ता राजकुमारहरू नगन्य होलान् । त्यो पनि आजभन्दा २ हजार ५ सय ६० वर्षअघि । त्यस्तै बिरलाकोटीका राजकुमार थिए सिद्धार्थ गौतम जसले २४ वर्षे खाउँखाउँ–लाउँलाउँको युवा उमेरमै त्याग, समर्पण र परिवर्तनको कठिन बाटो अबलम्बन गरे । रुढीवादी अन्धविश्वासमा जकडिँदै गएको र सन्दर्भहीन कर्म काण्डको विकृति र विसंगतिमा फसेको कठमूल्लावादी कट्टर हिन्दूवादी समाजमा आमूल परिवर्तन ल्याउन उनले अथक र निरन्तर कोसिस गरे । त्यस क्रममा उनले त्यतिबेला प्रचलित संस्कृत भाषालाई छोडेर सर्वसाधारणले बुझने पाली भाषा (जुन आज लोप नै भइसकेको छ) मा आफ्ना विचार र अवधारणहरू प्रस्तुत गरे । उनले प्रस्तुत गरेका ग्रन्थहरूमध्ये त्रिपिटक सबैभन्दा ठूलो र महत्वर्पूण ग्रन्थ मानिन्छ ।
सिद्धार्थले आरम्भिक शिक्षा विश्वामित्रबाट पाएका थिए । उनले वेद, पुराण, उपनिषदहरूको गम्भीर अध्ययन गरे । त्यसबाहेक उनले युद्धकलाको ज्ञान पनि लिए । तीर हान्ने, घोडा दौडाउने, कुस्ती खेल्ने जस्ता सीपसमेत त्यसबेला उनले सिके । हुन पनि त्यसबेला बुद्ध जतिको सिपालु रथ हाँक्ने अरू कोही थिएनन् भनिन्छ । यसरी राजकुमार हुर्कंदै गएर १६ वर्षे भएपछि उनको विवाह शाक्य कन्या यशोधरासँग सम्पन्न गरिएको थियो । आफ्ना पिता शुद्धोधनले ऋतु अनुरूप निर्माण गरेको भव्य र वैभवशाली राजदरबारमा पत्नी यशोधरासँग जीवन सिद्धार्थले गुजार्न थाले । उनलाई एक पुत्र पनि प्राप्त भयो जसको राहुल नामाकरण गरियो । सिद्धार्थ गौतम २० वर्षको भएपछि तत्कालीन शाक्य संघको सदस्य समेत भए । यसरी संघको कार्यमा बहुतै रुचीपूर्वक समर्पित र दत्तचित भएर लागेका सिद्धार्थ गौतमले त्यो संघमा ८ वर्ष बिताए । संघमा उनको आचरण र व्यवहार सबैका लागि अत्यन्तै उदाहरणीय, अनुकरणीय र प्रिय बनेको थियो ।
गौतम बुद्ध २४ वर्ष पुगेका बखत शाक्य गणराज्य र छिमेकी कौलीय गणराज्यबीच सीमा नदीको रूपमा रहेको रोहिणी नदीको पानी सिँचाइको निम्ति पहिला कसले र कति पानी उपयोग गर्ने सन्दर्भमा निक्कै ठूलो तनाव उत्पन्न भयो । यस्ता विवादहरू बढ्दै गएर कतिपय समयमा लडाइँकै रूप लिन्थे । अनि संवादद्वारा त्यस्ता विवादहरू नमिलेपछि युद्धद्वारा नै यसप्रकारका समस्याको हल गर्ने त्यतिबेला पनि प्रचलन थियो । त्यसैले शाक्य गणराज्यका सेनापतिले कोलीय गणतन्त्रका विरुद्ध युद्धको प्रस्ताव राखे । तर, सिद्धार्थ गौतम यो प्रस्तावको विरुद्ध थिए । उनले युद्ध कुनै पनि समस्याको समाधान होइन भन्ने कुरामा विश्वास राख्दथे र त्यसैमा दृढ थिए । उनले दुबैतर्फका मानिसहरू राखेर एउटा समिति बनाउने र त्यसले एक नेता चुनेर समस्या समाधान गरिनुपर्ने प्रस्ताव राखेका थिए । तर, युद्धकै पक्षमा नै ठूलो बहुमतले प्रस्ताव पारित भयो । त्यस स्थितिमा सिद्धार्थ गौतमका सामुमा केवल ३ वटा मात्र विकल्प देखापरे ( सेनामा भर्ना भएर युद्धमा भागलिने कि, आफ्ना परिवारका मानिसहरूको सामाजिक बहिष्कार तथा उनीहरूको खेत जफत हुने कुरामा सहमत हुने कि फासीमा चढ्न या देश निकाला स्वीकार गरेर हिँड्न तयार हुने । वास्तवमा यो गम्भीर र कठिन प्रश्न र विकल्प थियो । बुद्धले सोचविचार गरिकन तेस्रो विकल्प चुने र देश छोड्न तयार भए । यसरी शान्तिको खोजीमा युद्धको विरुद्ध उनले दरबारको सुखसयलको त्याग गरेका थिए । हुन पनि उनी दूधमुखे छोरो र प्रिय पत्नी तथा दरबारको सुखसयलको जीवनलाई पनि छोडेर हिँड्न तयार भएका थिए र हिडेँ ।
यसप्रकार कठिन निर्णय र अठोट लिएर राजकुमार सिद्धार्थ गौतम अब भिक्षु बनेर समाज चाहार्दै र जीवन र जगतको यथार्थ वास्तविक कुरा बुझदै हिँड्न थाले । उनले योग साधना पनि सिके । विभिन्न किसिमका तपस्याको पनि प्रयोग गरे । अनि यसरी सबै कुरा गर्दै जाँदा उनले कुनै पनि प्राप्तिका लागि अतिवाद काम नलाग्ने र मध्यम मार्ग अपनाउनुपर्ने निष्कर्षमा पुगे । यथार्थ सत्यको बोध गर्न हिँडेका गौतम बुद्धले वास्तवमा जुन महाज्ञान प्राप्त गरे त्यो नै अष्ठ मार्ग र पञ्चशीलको रूपमा आज विख्यात छ । उनले १४ वर्षे ज्ञानको खोजीपछि ४० वर्षे उमेरमा आफूले पाएको ज्ञानलाई संस्कृत भाषाको साटो स्थानीय सरल पाली भाषामा प्रचारप्रसार गर्न थाले । त्यसको सोझो असर समाजमा पनि पर्न थाल्यो र त्यसको लोकप्रियता बढ्दै जान थाल्यो । उनको अनुभव र ज्ञान प्रचार गर्ने क्रममा सर्वप्रथम उनले सारनाथ(जसलाई त्यतिबेला काशीको मृगदाव भनिन्थ्यो) पुगे र पहिलो प्रचार त्यहीँबाट आरम्भ गरे । यसरी आफ्नो ज्ञानधर्मको प्रचार गर्दै ८० वर्षको उमेरमा उनको महापरिनिर्वाण (देहावसान) बुद्ध जन्मेकै दिन भयो ।
बुद्धको ज्ञानको सार अर्थात् मूल उपदेश ‘अप्प दीपो भव’ अर्थात ‘आफँै प्रकाश बन’ भन्ने नै हो । बुद्धका अनुसार वास्तवमा धर्म भनेको ज्ञान प्राप्ति, समानता प्राप्ति र मित्रता प्राप्ति हो । यसका लागि सम्यक ज्ञान, सम्यक विचार, सम्यक दृष्टि, सम्यक आचरण, सम्यक कार्य आदि बताइएका छन् । उनले दुःख छ, दुःखको कारण छ र त्यसको निवारण पनि छ भन्ने कुराको जुन ज्ञान दिएका छन् त्यसैका लागि अष्टांगिक मार्ग प्रस्तुत गरेका छन् । उनको पञ्चशीलको सिद्धान्त त आज विश्वका देशहरूका बीच सहसम्बन्ध कायम गर्ने एउटा महत्वपूर्ण तत्व नै बनेको छ । बुद्ध अन्धविश्वास विरोधी, काटमार विरोधी र पशुबलि विरोधी थिए । बुद्धको ज्ञानमा जातपात, छुवाछुत र उचनिचको कुनै भेदभाव थिएन र छैन । बुद्धको यो महाज्ञानलाई उनका पिता राजा शुद्धोधन र पुत्र राहुलले पनि ग्रहण गरेका थिए । यद्यपि, अरम्भमा बुद्ध महिलाहरूलाई बुद्ध संघमा लिने कुरामा सहमत थिएनन् । तर, पछिबाट यो कुरा पनि उनले स्वीकारे । यद्यपि, उनलाई यो कुरा (महिलालाई संघमा लिने कुरा ) अत्यसम्म पनि त्यत्ति रुचीकर लागिरहेको थिएन ।
यसप्रकार नेपालमा जन्मेका सिद्धार्थ गौतमबुद्धले विश्व कल्याण, मानवता र मानवीयताका लागि जुन ज्ञानको अमोघ योगदान दिए त्यसै कारणले उनलाई आज शान्तिको अग्रदूत र एसियाका प्रकाश (लाइट अफ एसिया)को रूपमा सारा विश्वभरी जानिन्छ र उच्चसम्मान गरिन्छ । तर, बुद्धका सही उपदेशहरूलाई जसरी संकीर्णरूपमा खास सम्प्रदाय विशेषको धर्मजस्तो बनाएर प्रयुक्त गरिँदै र सीमित तुल्याउन खोजिँदै छ त्यसले वुद्धको विश्व मानवतालाई नेपालका महान सपुत गौतम बुद्धले दिएको योगदानलाई निक्कै सीमित तुल्याउने काम गरेको छ भने अर्कोतिर बुद्धजस्ता सर्वोत्कृष्ट मानवलाई भगवान् बनाएर पूजा अर्चना गर्ने गतिविधिले पनि समाजका र संस्कृतिमा उत्पन्न अन्धविश्वासविरुद्धको उनको महत्वपूर्ण र दूरदर्शी भावनालाई पनि यसरी कुण्ठित पर्ने र उपेक्षा गर्ने काम भइरहेका छ । यो बुद्धको फराकिलो ज्ञान र समाज परिवर्तको दृष्टिका लागि अमान्य जहाँ पनि र जहिले पनि अमान्य र अस्वीकार्य कुरा हो । के कुरा चाँही उदेकलाग्दो छ भने हामीले अझै पनि बुद्ध नेपालकै महाज्ञानी सपूत हुन भन्ने यथार्थलाई स्थापित गर्न सकिरहेका छैनौँ र यो वर्ष २०७३ नेपालमा सम्पन्न भइरहेको बुद्ध जयन्ति र विश्व बौद्ध सम्मेलनले बुद्धको जन्मथलोको बारेमा पालिएका कतिपय भ्रमपूर्ण कुराहरूलाई चिर्न मद्दत पु¥यायो भने त्यसलाई उपलब्धी नै मान्नुपर्ने स्थिति छ ।
प्रतिक्रिया