खाजा खर्च कटाएर पुस्तकालय स्थापना

पर्वत, ४ जेठ । जिल्लाको ग्रामीण क्षेत्रमा रहेका २ वटा सामुदायिक विद्यालयमा आधुनिक पुस्तकालय स्थापना गरिएको छ । सामाजिक सेवामा क्रियाशील रोट¥याक्ट क्लब अफ पर्वत र रोट¥याक्ट क्लब अफ पशुपति काठमाडौंंको सहयोगमा पर्वतका दुईवटा सामुदायिक विद्यालयमा आधुनिक पुस्तकालय स्थापना गरिएको हो ।

ग्रामीण क्षेत्रमा रहेका विद्यार्थी तथा बासिन्दालाई आधुनिक सूचना प्रविधिसँगै महत्वपूर्ण जानकारी दिन कम्प्युटर प्रविधिसहितको आधुनिक पुस्तकालय स्थापना गरिएको हो । जिल्लाको शंकरपोखरी गाविसस्थित जनसहयोगी मावि र कटुवाचौपारी गाविसस्थित सार्वजनिक माविमा पुस्तकालय स्थापना गरिएको हो । क्लबकै सक्रियतामा दुबै विद्यालयलाई २-२ थान कम्प्युटर र करिब १०-१० लाख रुपैयाँ बराबरका पाठ्यपुस्तक वितरण गरिएको छ । ०२८ मा स्थापित जनसहयोगी माध्यमिक विद्यालय शंकरपोखरी र कटुबाचौपारीस्थित सार्वजनिक माविमा कम्युटर र ई–लाइबे्ररी स्थापनाका लागि चाहिने सम्पूर्ण पाठ्यपुस्तक सहयोग गरी पुस्तकालय सञ्चालनमा ल्याइएको रोट¥याक्ट क्लब अफ पर्वतका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।

त्यसैगरी जनसहयोगी माध्यमिक विद्यालय शंकरपोखरीका ५ छात्रलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ । कम्प्युटर सिक्न र देख्नकै लागि पनि घन्टौ धाएर सदरमुकाम कुश्माबजारसम्म आउनुपर्ने बाध्यता अब हटेको जनसहयोगी माविका प्रद्यानाध्यापक गणेशबहादुर थापाले बताए । क्लबमा आवद्ध सदस्यले खाजा खर्च कटाएर तथा विभिन्न दाताको सहयोगमा पुस्तकालयका लागि आवश्यक किताब र कम्प्युटर जुटाएको रोट¥याक्ट क्लब अफ पर्वतका अध्यक्ष पौडेलले बताए । दुवै विद्यालयमा स्थापना भएका पुस्तकालयमा विभिन्न विधाका करिब ५÷५ हजार पुस्तक रहेका छन् ।

प्रतिक्रिया