पुरिने खतरामा स्यार्पुताल

रुकुम, ४ जेठ । पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्यार्पुताल उचित संरक्षण र सरकारको बेवास्ताका कारण पुरिएर लोप हुने सम्भावना बढ्दै गएको छ । पश्चिमी बाँफिकोट गाविसमा अवस्थित ताल बर्सेनि हुने बाढी, पहिरो र भूक्षयका कारण पूर्व स्वरूप गुमाउँदै कुनै बेला नाममा मात्र सीमित हुने निश्चित छ ।

सदरमुकाम खलंगाबाट २ घन्टाको जिप यात्रा र साढे ३ घन्टाको पैदल यात्रापछि पुगिने स्यार्पु यात्राका क्रममा अरू थुप्रै रमणीयस्थल हेर्नाका साथै डुंगा चढेर आनन्द लिएपछि माछासमेत खान पाइने गन्तव्यका रूपमा प्रख्यात छ । मान्छे सुतेको आकारमा रहेको तालको क्षेत्रफल २ दशमलव ६ वर्ग किलोमिटर रहेकामा ०६० साउनमा आएको बाढीले तालको करिब १ किमी क्षेत्रफल बगरमा परिणत गरिदिएको छ । वनजंगल फँडानी, आगलागी, गाईवस्तु छाडा राख्ने र सबै चिजवस्तु तालमै फाल्ने जस्ता मानवीय क्रियाकलाप यहाँ बढ्दै छ ।

तालको चारैतर्फ मिलेर बनेका बस्ती, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानीभेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई दर्साएको छ । जिम्मेवार स्थानीय निकाय तथा सरकार र निजीस्तरबाट स्यार्पुजस्ता प्रकृतिका उपहारको संरक्षण सम्बद्र्धन गरी पर्यटन प्रवद्र्धनका लागि लगानी र विकासको वातावरण तत्काल थाल्नुपर्नेमा स्थानीयवासीको जोड छ । स्पार्पुताल संरक्षणका लागि विगतमा गरिएका प्रयासको सरकारीस्तरबाट अनुगमन मूल्यांकन नहुँदा पनि संरक्षणका काम अगाडि बढ्न नसकेको सिस्ने स्यार्पु सरोकार समाज केन्द्रका अध्यक्ष गोपाल केसीले बताए ।

उनका अनुसार स्यार्पु ताल संरक्षणको लक्ष्यसहित गतवर्ष स्यार्पु पर्यटन महोत्सव सम्पन्न भइसकेको भए पनि सरोकारवालाको उदासीनता र स्थानीयवासीको बेवास्ताका कारण स्यार्पु कुनै समय बगरमा परिणत हुने निश्चित छ ।

प्रतिक्रिया