काठमाडौं, ३ जेठ । संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत संघीय गठबन्धनले घेराउको कार्यक्रम गर्नका लागि स्थान परिवर्तन गर्ने निर्णय गरेको छ ।
गठबन्धनले आइतबार र सोमबार माइतीघर मण्डला र हनुमानस्थानमा दिनभरि धर्ना दिई विरोध प्रदर्शन गरेको थियो । गठबन्धनले आन्दोलनको स्वरूप र स्थान परिवर्तन गर्ने निर्णय गरेको संयोजक उपेन्द्र यादवले जानकारी दिए । २९ दलीय गठबन्धनमा आबद्ध दलका नेता–कार्यकर्ताले नाराबाजी गर्दै आफ्ना माग सम्बोधन गराउन सोमबार १० बजेदेखि सिंहदरबार आसपासका हनुमानस्थान र माइतीघर मण्डलामा सडक अवरुद्ध गरी धर्ना दिएपछि दिनभरि नै सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको थियो । यातायात अवरुद्ध भएका कारण यात्रु हिँडेर गन्तव्यमा जान बाध्य भएका थिए ।
आन्दोलनकारीलाई सिंहदरबार वरपरको निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए । धर्नामा बसेका आन्दोलनकारीले ‘पहिचानसहितको संघीयता छोड्दैनौँ’, ‘आन्दोलनकारीसँग गरिएका सम्झौता लागू गर’लगायत नारा लगाएका थिए । गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रम साँझ ५ बजे सम्पन्न भएको थियो ।
माइतीघरमा केहीबेर प्रहरीसँग भएको झडपमा परी तीन कार्यकर्ता घाइते भएको गठबन्धनले जनाएको छ । २०७२ साल ३ असोजमा संविधानसभाबाट जारी भएको संविधानमा भएको प्रदेश सीमांकनप्रति असन्तुष्टि जनाउँदै मधेसकेन्द्रित र अन्य केही साना दलले आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया