दक्षिण चितवनको माडी नगरपालिकामा २ दशकको प्रयासपछि शनिबार रातीदेखि विद्युत् परीक्षण सफल भएको छ । उपभोक्ताको फिडरमा इतिहासमै पहिलोपटक शनिबार विद्युत् पुगेको हो । शनिबार साँझ माडीको उपभोक्ताका लागि पठाउने विद्युत् प्रसारण लाइनमा विद्युत् पठाएर परीक्षण सफल भएको ऊर्जा मन्त्रालयअन्तर्गत उक्त परियोजना हेर्दै आएको योजना तथा प्राविधिक सेवा विभागका सहायक प्रवन्धक विश्वरञ्जन मिश्रले जानकारी दिए ।
‘हामीले अहिले सफल परीक्षण ग¥यौँ, अब स्थानीयलाई विद्युत् दिन कुनै समस्या छैन,’ मिश्रले भने, ‘मागअनुसार प्राथमिकताका आधारमा विद्युत् वितरण हुन्छ ।’ माडीमा ०५१ सालदेखि नै विद्युत् ल्याउनका लागि पहल भए पनि सफल हुन सकेको थिएन । उक्त समयमा गाडिएका पोलका अझै केही अवशेष बाँकी भएका बेला दुई दशकपछि बल्ल माडीमा विद्युत् पुगेको छ । अहिलेसम्म स्थानीय सोलार र टुकीको सहारामा थिए ।
एक वर्षअघि नै विद्युत् उपभोग गर्नुपर्नेमा प्राविधिक समस्याका कारण सफल हुन सकेको थिएन । अहिले भने सबै परीक्षण सफल भएपछि माडीवासी उत्साहित भएका छन् । माडीमा विद्युत् पठाउन दुईवटा फिडर रहेका छन् । सो फिडरमै शनिबार विद्युत् परीक्षण भएको हो । दुर्ई दशकको पर्खाइपछि स्थानीयको बिजुली बाल्न पाउने आशा पूरा हुन लागेकाले आफूहरू खुसी रहेको स्थानीय गोविन्द न्यौपानेले बताए । गएको बुधबार माडीको सबस्टेसनमा विद्युत् पु¥याइएको भए पनि उपभोक्ताको फिडरमा छाडिएको थिएन ।
अहिलेसम्म विद्युत् बाल्ने आशा बोकेर बसेका उपभोक्ता यो वर्षदेखि भने उपभोग गर्न पाउने भएपछि खुसी भएको स्थानीय ओमनाथ पाण्डेले बताए । चितवनको सदरमुकाम भरतपुरबाट करिब ४० किमी दक्षिणमा माडी नगरपालिका पर्छ । यो क्षेत्र जान चितवन निकुञ्ज पार गरेर जानुपर्ने भएकाले अहिलेसम्म विद्युत् बाल्न नसकेको हो । अहिले निकुञ्जमा करिब ८ किमीमा जमिनमुनिबाट तार लगिएको छ ।
विगतका समस्यालाई समाधान गरेर विद्युत् माडी पु¥याइएको चितवनका विद्युत् इन्जिनियर राजेन्द्र पौडेल बताउँछन् । भरतपुर–माडी ३३ केभी ग्रामीण विद्युतीकरण आयोजना र चनौली–जगतपुर ३३ केभी विद्युतीकरण आयोजनाले यहाँ काम गर्दै आएको छ । अहिले माडीको एक तिहाइ क्षेत्रमा पोल गाडेर तारसमेत टाँगिएको छ । पहिलो चरणमा पोल गाडेको क्षेत्रमा पनि विद्युत् प्रवाह गर्न स्थानीयले दबाब दिँदै आएका छन् ।
प्रतिक्रिया