शालिग्रामको चोरी निकासी बढ्दो

salagramamsम्याग्दी, २ जेठ । विश्वमै अत्यन्त दुर्लभ मानिएको बहुमूल्य धार्मिक शिला शालिग्राम चोरी सिकारीका कारण कालीगण्डकी नदीबाट लोप हुने अवस्थामा पुगेको छ । संसारभरि अन्त कतै नपाइने तर कालीगण्डकी नदीको कागबेनीदेखि रिडी (गुल्मी) सम्मको खण्डमा मात्रै पाइने दुर्लभ शिला शालिग्राम म्याग्दीको गलेश्वरदेखि मुस्ताङको कागबेनीसम्मको भागबाट व्यापकरूपमा चोरी निकासी हुने गरेको छ ।

५ वर्षअघि म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले शालिग्रामको चोरी निकासी नियन्त्रण गर्न शालिग्राम संरक्षण अभियानका लागि समिति बनाएको भए पनि अहिले त्यो समिति निष्क्रिय अवस्थामा रहेको छ । गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीको अगुवाइमा ०६८ सालमा शालिग्राम संरक्षणका लागि पहल भएको थियो । त्यतिबेला भारतीय मूलका ३ जना व्यक्तिले शालिग्राम चोरी निकासी गर्ने गरेको भेटिएको थियो ।

अहिले पनि यस कार्यमा भारतीय मूलका व्यक्तिहरू नै सक्रिय रहेको गलेश्वर शिवालयका मूल पुजारी यामप्रसाद आचार्यले बताए । यस विषयमा कुनै उजुरी नपरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । हिन्दू धर्मावलम्बीहरूले शालिग्रामलाई भगवान् विष्णुको अंश मानी पूजा गर्ने गर्दछन् । शालिग्रामलाई विभिन्न मन्दिर वा घरमा राखेर पूजा गर्ने गरिन्छ । शालिग्रामको जलमा तुलसीपत्ता मिसाएर खाने हो भने मनोविकास र पेटसम्बन्धी सम्पूर्ण रोग निको हुने आयुर्वेदिक उपचार पद्धतिमा बताइएको छ । त्यसका साथै शालिग्रामभित्र सुन हुने भएकाले पनि यसको व्यापक मात्रामा चोरी निकासी हुने गरेको शालिग्राम शिलाका अध्येता पं रञ्गराज शास्त्रीले बताए ।

प्रतिक्रिया