सेनाका शिविरमा स्वास्थ्य सेवा

महोत्तरी, २ जेठ । महोत्तरी जिल्लाको नैन्ही गाविसमा शनिबार नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब २ हजारले सेवा प्राप्त गरेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका–१७ प्रकौलीस्थित नेपाली सेनाको श्री फस्ट रैफल गणले नैन्ही गाविस–६ स्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

सो शिविरमा सेनाले जनरल फिजिसियन, माइनर सर्जरी, स्त्री रोग, बालरोग, हाडजोर्नी, दाँतसम्बन्धी, छालारोग, आँखा, नाक, कान घाँटीलगायत पशु स्वास्थ्यसम्बन्धी सेवा र कृषि प्राविधिकसम्बन्धी सेवा प्रदान गरेको सो गणका गणपति युवधीरमान सिंह अधिकारीले बताए । जिल्लाको पश्चिम दक्षिण कुनामा भारतसँग जोडिएको स्वास्थ्य सेवाको खासै पहुँच नभएको नैन्ही गाविसमा सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा नैन्हीसहित वरपरका हलखोरी, बथनाहा, चकवा, मरुवाही, सकरी, मलिवारा, बेला, महादेवपट्टिसहित गाउँगाउँबाट आएका करिब दुई हजार महिला पुरुष निःशुल्क स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन् । साथै सेनाले सो शिविरमा उपचार गराएका बिरामीलाई निःशुल्क रूपमा ७० प्रकारका औषधि पनि वितरण गरेको थियो ।

शिविरमा आएका बिरामीलाई सेनाको आमन्त्रणमा जनकपुर अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं जनरल फिजिसियन डा गौरांग मिश्र, माइनर सर्जरी डा रमेश साह, स्त्री रोग विशेषज्ञ डा विजयकुमार सिंह, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा अनिलकुमार साह, बालरोग विशेषज्ञ डा आनन्द मिश्र, दन्तरोगसम्बन्धी डा कुञ्जन मिश्र, डा अजय साह र महिलासम्बन्धी डा पिंकी साहले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

स्वास्थ्य शिविरसँगै सञ्चालन गरिएको पशु स्वास्थ्य र कृषिसम्बन्धी एकीकृत घुम्ती शिविरबाट पनि ४ सय बढीले ५० प्रतिशत अनुदानमा विभिन्न बीउबिजन र कम्पोस्ट मल प्राप्त गरेका थिए भने निःशुल्क रूपमा पशुका औषधिसमेत प्राप्त गरेका थिए ।

एक वर्षअघि मात्रै जिल्लामा आएको नेपाली सेनाको श्री फस्ट रैफल गणले यसअघि दुई महिना पहिले जिल्लाको धीरापुर गाविसमा पनि यस्तैखालका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो भने आउँदा दिनमा अझै पनि जिल्लाका विकट ठाउँमा यस्ता सेवा प्रदान गर्ने लक्ष्य रहेको गणपति अधिकारीले बताए । साथै यस गणले जिल्लाको सदरमुकाम जलेश्वरमा सार्वजनिक शौचालय निर्माणको काम पनि अगाडि बढाएको छ ।

प्रतिक्रिया