बन्द हडताल नगर : न्यौपाने

काठमाडौं, १ जेठ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले भूकम्प र नाकाबन्दीले थिलथिलो बनाइएका नेपाली जनतालाई अधिकार प्राप्तिका नाममा बन्द हडताल गरेर फेरि दुःख र पीडा नदिन आग्रह गरेका छन् ।

पार्टीद्वारा शनिबार राजधानीको बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले संविधानले सबैलाई शान्तिपूर्ण विरोध गर्ने अधिकार प्रदान गरे तापनि अरू नागरिकको अधिकार हनन हुन हुँदैन भन्ने पक्षमा सचेत रहन ध्यानाकर्षण गराए ।

राज्य सञ्चालनको पटकपटक जिम्मेवारी बहन गरेका राजनीतिक दलका केही नेताबाट आफ्नो माग पूरा भएन भने गृहयुद्धसम्म हुन सक्छ भन्ने अभिव्यक्ति आउनु दुःखद् पक्ष भएको बताउँदै अध्यक्ष न्यौपानेले भने, ‘जनता र राष्ट्रको हितविपरीत बोल्ने कसैलाई अधिकार छैन ।’

सोही पार्टीका सचिव संगम लामाले नेपाली जनताको दुइ तिहाई बहुमतका आधारमा जारी भएको संविधानलाई युग सुहाउँदो बनाउन सहमतिका आधारमा संशोधन गर्न कुनैखाले बन्द हडतालको आवश्यकता नपर्ने धारणा व्यक्त गरे । पार्टी प्रवक्ता प्रकाश निरौलाले जनताको भावना विपरीत देशलाई अस्तव्यस्त तुल्याउने कसैलाई अधिकार नभएको हुँदा जनतालाई कसैले दुःख दिन खोजे त्यसको प्रतिकार गर्नसमेत आफ्नो पार्टी तयार रहेको चेतावनी दिए ।

प्रतिक्रिया