१२ विद्यालयमा लैंगिकमैत्री योजना

धादिङ । ५ गाविसका १२ विद्यालयले लैंगिकमैत्री योजना बनाउने भएका छन् । भूकम्पपछि विद्यालयको संरचनासमेत क्षतिग्रस्त भएका अवस्थामा पनि सामाजिक समावेशीकरणका आधारमा काम गर्ने जनाउँदै सल्यानटार, सलाङ, बसेरी, जोगीमारा र सुनौलाबजार गाविसमा रहेका विद्यालय लैंगिकमैत्री विद्यालय सुधार योजना बनाउन लागि परेका हुन् ।

जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डेले विद्यालय सुधार योजना अध्यावधिक गर्नेसम्बन्धी कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै विद्यालय सुधार योजनाले शैक्षिक गुणस्तरमा वृद्धि गर्ने बताए । हाल विद्यालयमा भएको विद्यालय सुधार योजना नाम मात्रको भएको र अब यसलाई अध्यावधिक गर्दा विद्यालय व्यवस्थापन समिति, शिक्षक, बालबालिका, अभिभावक, महिला तथा अन्य वर्गको सहभागिता गराई निर्माण गर्ने यसलाई विद्यालयको साझा योजनाका रूपमा अघि बढाउने विद्यालयका प्रधानाध्यापक प्रतिबद्ध भएका छन् ।

डिएफआइडी र भिएसओको सहयोगमा आसमान नेपालले सञ्चालन गरेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रममा आबद्ध विद्यालयमा विद्यालय सुधार योजनालाई अध्यावधिक गरी लैंगिकमैत्री तथा सामाजिक समावेशीकरण सहयोग गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक सहभागी कार्यक्रमलाई विद्यालय निरीक्षक रामचन्द्र इटनीले सहजीकरण गरेका थिए ।

हालका दिनमा विद्यालयमा शिक्षकसँग पाठ्यक्रम नहुने, त्रैमासिक परीक्षा भनेर ४ महिनामा परीक्षा लिने जस्ता क्रियाकलापले विद्यालयको गुणस्तर शिक्षामा टेवा नपुगेकाले वास्तविकतामा आधारित योजना बनाई लागू गराउन सहयोग गरिएको आसमान नेपालका जिल्ला संयोजक रोजिना श्रेष्ठले बताए । (सौस)

प्रतिक्रिया