अमेरिकाले सौर्य ऊर्जा सहयोग गर्नेे

काठमाडौं, ३० वैशाख । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले अमेरिका र नेपालबीच विकास निर्माण तथा सुरक्षाको क्षेत्रमा सहयोग अझ अभिवृद्धि हुने अपेक्षा राखिएको बताएका छन् । आफ्नै कार्यकक्षमा नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका सेक्रेटरी अफ नेभी रे माबुससँगको शिष्टाचार भेटमा उनले नेपालको संविधान जारी भएकाप्रति अमेरिकाबाट भएको स्वागत र समर्थन तथा गतवर्षको भूकम्पमा उद्धार तथा राहतका लागि अमेरिकी सरकारद्वारा उपलब्ध गराइएको सहयोगप्रति आभार प्रकट गर्दै भूकम्पपछिको उद्धार तथा राहतका क्रममा नेपालमा हेलिकोप्टर दुर्घटनामा परी ६ अमेरिकी सैनिकको निधन भएको प्रति दुःख व्यक्त गरे ।

सो अवसरमा रक्षासँग सम्बन्धित सहयोगका विविध विषयमा विचारविमर्श भएको रक्षा मन्त्रालयका सहायक प्रवक्ताले विज्ञप्तिमा जानकारी दिएका छन् । मावुसले नेपालले अन्तर्राष्ट्रिय शान्ति कायम गर्नका लागि संयुक्त राष्ट्र संघमार्फत शान्ति सेनामा सहभागिता जनाइरहेको योगदानको विश्वले कदर गरेको बताए । उनले आगामी दिनमासमेत रक्षा मन्त्रालय र नेपाली सेनासँगको सहयोग र सहकार्यमा मानवीय सहायता, विपत् व्यवस्थापन, शान्ति सेनाको तैनाथी तथा सेनालाई उपब्ध गराउने तालिमलगायत क्षेत्रमा सहयोग अझै वृद्धि गर्दै लगिने जानकारी दिए ।

उनले अमेरिकी जलसेना र नौसैनिकले वैकल्पिक ऊर्जाका रूपमा सौर्य तथा जैविक ऊर्जालाई सफलतापूर्वक उपयोगमा ल्याएको र त्यस्तै प्रविधि नेपाल सरकार तथा शान्ति सेनाका लागिसमेत उपयोगी हुने देखिएकाले नेपाललाई उपलब्ध गराउन सहमति जनाए । यसैबीच माबुसले बिहीबारै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गरे । सो अवसरमा उनीहरूबीच द्विपक्षीय सहयोगलगायत आपसी हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया