खुल्यो दूतावास : सम्बन्ध झनै सुदृढ

UAE Embassyसंयुक्त अरब इमिरेट्स (युएइ)ले मंगलबारदेखि काठमाडौंमा विधिवत् रूपमा आफ्नो दूतावास स्थापना गरी सेवाको सुरुआत गरेको छ । नेपाल र युएईबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१० मा नै युएईले नेपालमा दूतावास स्थापना गर्ने निर्णय गरेको थियो । दूतावास स्थापनासँगै अब युएईको भ्रमण गर्न, रोजगारीका लागि जाने श्रमिक तथा व्यापार गर्न त्यहाँ जाने नेपाली नागरिकलाई निकै सजिलो भएको छ । हाल युएईमा २ लाखको हाराहारीमा नेपाली विविध क्षेत्रमा कार्यरत छन् । युएइले यसअघि भारतको नयाँदिल्लीबाट दूतावास नेपालसम्बन्धी काम हेर्ने गर्दथ्यो ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र युएईका विदेश तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नह्यानले आज यहाँ आयोजित विशेष कार्यक्रममा राजदूतावासको उद्घाटन गरेका थिए । विदेशमन्त्री नह्यान युएइका प्रथम राष्ट्रपति एवं अमिरका सुपूत्र हुन् । दूतावास उद्घाटन एवं सेवा सुरुआत गर्न उनी विशेष विमानद्वारा मंगलबारै नेपाल आएका थिए । दूतावास उद्घाटनको अवसरमा उनीहरूले संयुक्त रूपमा पानीपोखरीमा अवस्थित राजदूतावासको हाताभित्र युएईको राष्ट्रिय झन्डाको झन्डोत्तोलनसमेत गर्नुका साथै भवनमा रहेका कार्यकक्षको अवलोकन गरेका थिए । समारोहमा परराष्ट्र मन्त्रालयका सचिव शंकर वैरागी, मन्त्रालयका शिष्टाचार अधिकृत चक्र सुवेदी एवं नेपालका लागि युएईका नवनियुक्त राजदूत सइद हमदान अल नाक्वीलगायत सहभागी थिए ।

संक्षिप्त मन्तव्य राख्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले नेपालमा युएईले आफ्नो राजदूतावास स्थापना गरी सेवाको सुरुआत भएसँगै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उनले नेपाल र युएईबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध भएपछि आजको दिन (मंगलबार) ऐतिहासिक रहेको चर्चा गर्दै नेपालको आर्थिक एवं पूर्वाधार विकासमा युएईले महत्वपूर्ण सहयोग गरिराखेको चर्चा गरे ।

गतवर्ष नेपालमा आएको भूकम्पको उद्धार र राहत तथा पुनर्निर्माणमा युएईले गरेको सहयोगको स्मरण गर्दै युएईमा कार्यरत नेपाली युवालाई नेपालमा स्थापना भएको राजदूतावासले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

युएइका विदेशमन्त्री नह्यानले आफ्नो देशले वर्षाैंदेखि अन्तर्राष्ट्रियस्तरमा नेपाललाई नजिकको असल मित्र तथा साझेदारका रूपमा हेरेको बताए । उनले सन् २०१५ को अप्रिल तथा मे महिनामा नेपालमा गएको भूकम्पले पु¥याएको क्षतिप्रति युएइका जनतालाई गहिरो दुःख लागेको चर्चा गर्दै नेपाली जनतालाई थप आवश्यक सहयोग गर्न युएई सरकार तयार रहेको जानकारी दिए ।

विदेशमन्त्री नह्यानले नेपाललाई सन् २०१५ मा मात्र युएई सरकार तथा गैरसरकारी संस्थाले ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग दिएका छन् स्मरण गरे ।

काठमाडौंमा स्थापना भएको युएईको राजदूतावासले युएईको भ्रमण गर्ने, त्यहाँ व्यापार गर्ने, काम गर्ने नेपाली नागरिकलाई निकै सजिलो बनाउने विश्वास विदेशमन्त्री नह्यानले व्यक्त गरे । ‘हाम्रो मुलुकको विकासमा नेपाली नागरिकले दिएको योगदानका लागि हामी सदैव मूल्यवान् ठान्छौँ र राजदूतावासको उद्घाटनले नेपाल तथा युएइबीच सम्बन्ध नयाँ तरिकाले विस्तार तथा उँचो गर्नेछ,’ उनले भने, ‘यस भ्रमणमा मैले नेपाली समकक्षीसँग दुई मुलुकबीच आर्थिक तथा व्यापार सम्बन्ध विस्तार गर्ने सम्भावनाका विषयमा छलफल गरेँ । युएई नेपालको तेस्रो सबैभन्दा ठूलो व्यापार साझेदार भएकोमा म गौरव गर्छु । सन् २०१४ मा मात्र दुई मुलुकबीच तेलबाहेक दुईपक्षीय व्यापार २३ करोड ५० लाख अमेरिकी डलर बराबर रहेको थियो । यो तथ्यांक आउँदा वर्षमा अझै बढ्ने सम्भावना भएको म विश्वास गर्छु ।’

विदेशमन्त्री नह्यानले युएईको प्रमुख भौगोलिक अवस्था तथा खुला, प्रगतिउन्मुख व्यापारिक वातावरणले मध्यपूर्व, दक्षिण एसिया तथा अफ्रिकाका क्षेत्रका लागि केन्द्रीय आर्थिक, अन्वेषण तथा व्यापारिक केन्द्र उपलब्ध हुने मार्ग बनाएको चर्चा गर्दै भौगोलिक कठिनाइमा रहेको नेपालजस्तो मुलुकलाई युएईसँगको सम्बन्ध विस्तारले आफ्नो सीमाभन्दा पर पनि आर्थिक उपस्थिति विस्तार गर्न पर्याप्त अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

हाल युएईका विमान सेवाले काठमाडौंमा प्रतिसाता ५१ वटा सोझै उडान भर्ने गर्दछन् । पर्यटकीय क्षेत्रका रूपमा नेपालको मौलिक वातावरण तथा आकर्षणले नेपालको भ्रमण गर्न तथा यहाँ लगानी गर्न युएईका नागरिकलाई सरल अवसर प्रदान गर्ने विदेशमन्त्री नह्यानले विश्वास व्यक्त गरे । उनले भने, ‘आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै सुदृढ हुनेमा म विश्वस्त रहेको छु ।’

दूतावास उद्घाटनअघि नेपाल र युएइबीच द्विपक्षीय वार्ता भएको थियो । सो वार्तामा नेपाल पक्षको नेतृत्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापा र युएईका विदेशमन्त्री नह्यानले गरेका थिए । वार्तामा परराष्ट्र मन्त्रालयका अतिरिक्त श्रम तथा रोजगार, उद्योग, अर्थ, गृह र पर्यटन मन्त्रालयका उच्चअधिकारी सहभागी थिए । उपप्रधानमन्त्री थापाले विदेश मन्त्री नह्यानको सम्मानमा मंगलबारै दिवाभोजको आयोजनासमेत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग युएईका विदेशमन्त्रीले सोही दिन बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया